
मनिष दुवाडी / ८ भदौ, धादिङ –
धादिङ जिल्लाका विद्युत उपभोक्ताहरु छिन–छिनमा हुने गरेको विद्युत आपुर्तिको अवरोधबाट हैरानी खेप्न बाध्य भएका छन् । सदरमुकाम धादिङ आसपास र नजिकका गाउँपालिकाहरुमा विद्युत वितरण गर्दै आइरहेको धादिङ शाखाले प्रदान गरेको सेवामा दैनिक समस्या आइरहदा पनि दिर्घकालिन समाधान हुन सकेको छैन ।
दिनमा दर्जनौ पटक विद्युत आपुर्तिमा अवरोध आउदा दिवाकालिन उद्योग तथा कलकारखानाहरु नियमित संचालनमा समस्या भएको छ भने विद्युत आपुर्ति नियमित हुन नसक्दा स्थानीय उपभोक्ताहरु हैरानी खेप्न बाध्य छन् ।
धादिङ जिल्लाको विद्युत आपुर्तिको मुख्य स्रोत नुवाकोट स्थित देवीघाट जलविद्युत आयोजना हो । देवीघाटबाट ३३ केभीको प्रशारण लाइन मार्फत सदरमुकाम धादिङवेशी, पिडा स्थित जहरे सव स्टेशन र धार्केसव स्टेशन सम्म विद्युत वितरण गरिएको छ । त्यसबाहेक ८.४ मेगावाट क्षमताको आँखुखोला जलविद्युत आयोजना, ३ मेगावाटको थोपाल खोला जलविद्युत आयोजना तथा धादिङ र गोर्खाको सिमाना मैलुङमा रहेको छोटेखोला जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत पनि धादिङमा जिल्लामा आउने गरेको छ ।
नेपाल विद्युत प्राधिकरण धादिङ शाखाका इन्जिनियर सुजन खड्काले भने, ‘पछिल्ला दिनहरुमा विद्युत आपुर्तिमा सामान्य अवरोध आएको सत्य हो । धादिङ जिल्लामा विद्युत आपुर्तिको स्थायी स्रोत देवीघाट आयोजना पुरानो भएको र त्यहाँ समस्या आउदा यहाँ समेत त्यसको असर परेको हो ।’ खड्काको अनुसार देवीघाट आएको विद्युतको सपोर्टको रुपमा आपुर्ति गरिएको आँखुखोला जलविद्युत आयोजना र थोपालखोला जलविद्युत आयोजनाबाट पनि देवीघाट प्रशारण लाइनमा समस्या आउदा विद्यूत बन्द हुने भएका कारण बढी समस्या देखिएको हो ।
देवीघाट स्थित जलविद्युत आयोजनाबाट धादिङवेशीसम्म ३३ केभीको प्रशारण लाइनमार्फत विद्युत ल्याउदा ४१ किलोमिटर दुरी पार गर्नुपर्छ । उक्त दुरीमा कतै तार छिनेको खण्डमा अथवा पोल ढलेको खण्डमा समस्या पत्ता लगाउनै समय लाग्ने भएकाले कुनै कुनै समय १/२ दिनसम्मै विद्युत आपुर्ति हुन नसकेको इन्जिनियर खड्काले बताए । ‘समस्या फेला पार्न सकिए त दिनरात काम गरेर जतिसक्दो चाँडो सेवा दिने प्रयत्न हुन्छ नी ।’ खड्काले भने, ‘बर्खायाम छ, हावाहुरी चल्छ, कँही रुखपात भाँचिएर प्रशारण लाइनको तार छिनेको हुन्छ । पोल–पोल र तारतारै कहाँ समस्या आएको हो हेर्दै हिड्नुपर्ने भएकाले कुनै बेला बनाउन समय लाग्न सक्छ ।’
बर्खायाम भएकाले ठुलो हावाहुरी चल्दा र ठुलो चट्याङ पर्दा हुने सम्भावित दुर्घटनालाइ मध्यनजर गरेर देवीघाट स्थित आयोजना आँफैले विद्युत सेवा बन्द गर्ने गरेको धादिङ विद्युत प्राधिकरण धादिङ शाखामा प्रमुख ध्रुवराज कार्कीले बताए । कार्कीले भने, ‘सम्भावित दुर्घटनालाइ हेरेर कतिपय अवस्थामा हामी आफैले केही समयको लागि विद्यूत आपुर्ति बन्द गर्नुपर्ने अवस्था पनि आउँछ, त्यसलाइ उपभोक्ताले विद्युत प्राधिकरणको लापरवाही देखिदिन भएन ।’
कतिपय अवस्थामा प्राविधिक कारणले पनि विद्युत वितरणमा केही अवरोध आएको कार्कीले बताए । बर्खामास रहेकाले गाउँ गाउँमा वितरण गरिएका काठेपोलहरु जीर्ण भएकाले कुनै एक ठाउँको पोल भाँचिएमा अथवा तार चुँडिएमा तत्कालको लागि जिल्लाभरको विद्युत आपुर्ति बन्द गर्नुपर्ने बाध्यतामा रहेको पनि कार्कीले बताए । ‘ग्रामिण क्षेत्रका काठे पोलहरु विस्थापित गर्नको लागि १० हजार फलामे पोल ल्याउने चरणमा छौँ ।’ कार्कीले भने, ‘धादिङ जिल्लाको माग अनुसारको विद्युत आपुर्ति पुगेकै छ, मात्रै सही वितरण हुन नसकेकाले हामी त्यसलाइ ब्यवस्थित गराउने अभियानमा छाँै ।’
२०७५ भदौ ८ गते प्रकाशित