
१ भदौ, धादिङ –
नेपाल मिडिया सोसाइटीले शुक्रबारदेखि लागू हुन लागेको मुलुकी फौजदारी संहिताका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संहिताको गोपनीयता र गाली बेइज्जतीसम्बन्धी महलका प्रावधानले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गम्भीर खतरा देखिएको सोसाइटीले औंल्याएको छ।
‘संहिताका २९३ देखि ३०८ सम्मका दफामा समेटिएका प्रावधानले प्रेसले निर्बाध रुपमा काम गर्न पाउने वातावरणमा गम्भीर धक्का दिएको छ,’ सोसाइटीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘दफा २९३ मा कसैले दुई वा दुईभन्दा बढी व्यक्तिका बीचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमति वा त्यसरी कुरा गर्ने व्यक्तिको मञ्जुरीबिना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनिअंकन गर्न हुँदैन भन्ने प्रावधान व्यक्तिको गोपनीयतासँग मात्र सम्बन्धित नभएर यसले प्रेसको निर्बाध सूचना संकलन, प्रकाशन वा प्रसारण गर्ने संवैधानिक हकको समेत ठाडै उल्लंघन गर्ने देखिन्छ ।
’ सोसाइटीले संहिताका यस्ता प्रावधान तत्काल हटाउन माग गरेको छ। ‘सरकारले नयाँ ऐनकानुन बनाउँदा नेपालको संविधानको धारा १९ को आमसञ्चारको हकलाई विशेष ध्यानदिन समेत हामी अनुरोध गर्न चाहन्छौं,’ सोसाइटीले भनेको छ।
संहिताको दफा २९४ मा ‘कसैले आफ्नो व्यावसायिक कामको सिलसिलामा कुनै व्यक्तिबाट थाहा पाएको निजको कुनै गोप्य कुरा कानुनले बाध्य गराएको वा त्यस्तो व्यक्तिले अनुमति दिएको अवस्थामा बाहेक कसैलाई पनि प्रकट गर्नु हुँदैन’ भन्ने व्यवस्थाले पत्रकारिताको मूल मर्ममा हमल ागर्न पुगेको ठहर सोसाइटीको छ।