
३० साउन, काठमाडौं –
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपितभन्दा बढी आम्दानी गर्ने देखिएको छ । गत आवमा प्राधिकरणले एक अर्ब एक करोड खुद नाफा आर्जन हुने लक्ष्य राखेकोमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने देखिएको हो ।
गत आवमा प्राधिकरणको सञ्चालन मुनाफा सात अर्ब ८६ करोड थियो । अन्य वित्तीय खर्च कटौती गरेपछि खुद मुनाफा आउँछ । विद्युत् चुहावट नियन्त्रणमा पाएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरीद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, विद्युत्भार कटौतीको अन्त्य, वित्तीय पुनःसंरचनाको प्रभावकारी कार्यान्वयनबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो ।
चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै चार अर्ब थप आम्दानी भएको छ । गत वार्षिकोत्सवमा आव २०७३/७४को प्राधिकरणको खुद नोक्सानी ९७ करोड ८९ लाख हुने प्रक्षेपण गरिएकोमा अन्तिम लेखा परीक्षणपछि खुद नाफा रु एक अर्ब ५१ करोड देखिएको थियो । प्राधिकरणको सञ्चित नोक्सानी अझै २८ अर्ब १२ करोड छ ।
प्राधिकरण गत आवमा विद्युत् चुहावट नियन्त्रणको लक्ष्य पूरा गर्न सफल भएको छ । प्राधिकरणले गत आवमा प्रणालीमा रहेको २२.९० प्रतिशत विद्युत् चुहावटलाई २०.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो ।
२०७५ साउन ३० गते प्रकाशित