धादिङ – धादिङको पीडा घटनाका विरामीहरुलाई राहत वितरण गरिएको छ । प्रयास नेपाल धादिङ र युएमएनसंगको साझेदारीमा संचालित बालकेन्द्रित सामुदायिक विकास कार्यक्रम अन्तर्गत विरामीहरुलाई राहत उपलब्ध गराइएको हो ।
विषादी प्रयोग गरिएको गहुको रोटी खाँदा विरामी परेकाहरुलाई विहिबार गाउँमै पुगेर राहत स्वरुप खाद्यन्न उपलब्ध गराइएको हो । एक जना विरामी बराबर २ हजार ८ सयको खाद्य सामाग्री उपलब्ध गराइएको प्रयास नेपाल धादिङद्धारा संचालित बालकेन्द्रित सामुदायिक विकास कार्यक्रमका कार्यक्रम संयोेजक विनोद भट्टले बताउनुभयो ।
गत फागुन २५ गते विहान विषादी प्रयोग गरिएको गहुँको रोटी खाँदा पिडा गाउँ विका समितिको वडा नं ८ पुकुनका सन्चबहादुर स्याङ्तानको परिवारका ६ जनाको मृत्यु भएको थियो भने चार परिवारका १६ जना विरामी परेका थिए । विरामी परेर शारीरिक र मानशिक रुपमा समेत कमजोर भएकाहरुलाई केही भएपनि मलम पट्टी गराउन राहत उपलब्ध गराइएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।
विरामी परेर काम गर्न नसक्ने अवस्थामा रहेकाहरुलाई केही समयको लागि भएपनि राहत उपलब्ध गराएकोमा स्थानीय महिलाहरु निकै खुसी भएका छन् । विभिन्न क्षेत्रबाट उपलब्ध भएको राहत र विरामीहरु घर फर्किएकोमा पुकुन चौतारा आत्मनिर्भर महिला समूहका अध्यक्ष फुलमायाँ तामाङले खुसी व्यक्त गर्नुभयो ।
यस अघि प्रयास नेपाल धादिङले रोटी खाँदा मृत्यु भएका एक जना बराबर ७ हजार ५ सयका दरले ४५ हजार रुपैया आपत्कालिन राहत उपलब्ध गराएको थियो । घटनामा मृत्यु भएकाहरुको काजकिरियाका लागि भन्दै जिल्ला पशासन कार्यलय धादिङको अगुवाइमा बुधबार एकजना मृतक बराबर २५ हजारका दरले नगद सहयोग उपलब्ध गराएको थियो । घटनामा मृत्यु भएका एकै परिवारका ६ जनाको विहिबारबाट तामाङ परम्परा अनुसार सामुहिक रुपमा काजकिरिया सुरु भएको छ ।