
२० साउन, धादिङ –
प्रतिनिधिसभा बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक समितिमा पठाउने भएको छ। प्रतिनिधिसभाको आइतबार बस्ने बैठकले चिकित्सा शिक्षा विधेयकसहित अन्य तीन विधेयकलाई समितिमा पठाउने भएको हो। चिकित्सा शिक्षा विधेयकमाथि गत आइतबार संसद्बाट सैद्धान्तिक स्वीकृति प्रदान भएको थियो।
विधेयकमाथि संशोधनका लागि ७२ घण्टाको समय निर्धारण गरिएको थियो। वरिष्ठ चिकित्सक डा.गोविन्द केसीसँग भएको वार्ताबमोजिम सत्तारुढ दलबाट संशोधन राखिएको छ। अन्य सांसदले पनि संशोधन राखेका छन्। संशोधनका आधारमा विधेयकलाई समितिमा पठाउन लागिएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ । आइतबारको बैठकले लेखापरीक्षणको सम्बन्धमा बनेको विधेयक र सार्वजनिक सुरक्षा ऐनसम्बन्धी विधेयक पनि समितिमा पठाउने भएको जानकारी सचिवालयले जनाएको छ।
सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका समिति शुक्रबार गठन गरेपछि अब समितिमा विषयहरू लागिएको हो। समिति गठन नभएकाले चिकित्सा शिक्षा विधेयकअघि संशोधनको समय सकिएका दुई विधेयक अलपत्र परेका थिए।
चिकित्सा शिक्षा विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा पठाइनेछ भने लेखापरीक्षण सम्बन्धी विधेयक अर्थ समितिमा पठाइनेछ। सार्वजनिक सुरक्षा ऐनसम्बन्धी विधेयक राज्यव्यवस्था समितिमा पठाइनेछ। गत २२ गते संसद्मा दर्ता भएको यो विधेयक डा.केसीसँग नौबुँदे सहमति भएपछि अघि बढेको थियो।
२०७५ साउन २० गते प्रकाशित