१५ साउन, धादिङ –
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना वरिपरि रिङरोड बन्ने भएको छ। करिब तीन सय किलोमिटर लामो रिङरोड निर्माणका लागि यस वर्ष १४ करोड रुपैयाँ प्राप्त भएको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनस्र्थापना इकाइ प्रमुख कृष्ण कार्कीले जानकारी दिए।
रिङरोडको डीपीआर बनिसकेको छ। १५ मिटर फराकिलो रिङरोड बन्न लागेको हो । अहिले डुबान क्षेत्रका जग्गाको मुआब्जा वितरण कार्य भइरहेको छ। रिङरोड बनेपछि मुआब्जाको रकमले बूढीगण्डकी क्षेत्रभन्दा बाहिर घरजग्गा किन्न जानेहरू रोकिने र रिङरोड आसपास नै घरजग्गा लिने क्रम बढ्ने विश्वास गरिएको छ।
बूढीगण्डकी जलाशयका कारण समुद्री सतहदेखि ५ सय ४० मिटर उचाइसम्मको भूभाग डुबानमा पर्नेछ। त्यसभन्दा पाँचमिटर माथिसम्मको क्षेत्रलाई ‘रिस्क जोन’ मानिने इकाइ प्रमुख कार्कीले बताए। सो क्षेत्रभन्दा माथि मात्रै रिङरोड र बस्ती निर्माण गरिने उनको भनाइ छ। डुबानका कारण तीन हजार ५ सय ६० घरधुरी विस्थापित हुने आयोजनाको डीपीआरमा उल्लेख छ।
विस्थापितहरूलाई पुनस्र्थापित गर्न निर्माण हुने ‘बूढीगण्डकी भिलेज’का लागि ४४ ठाउँमा सम्भाव्यता अध्ययन गरिरहेको आयोजनाले जनाएको छ।
२०७५ साउन १५ गते प्रकाशित