

१३ साउन, धादिङ –
क्रिकेटको मक्का मानिने बेलायतको लर्ड्स मैदानमा दोस्रो पटक आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सँग टी–२० ट्राई सिरिज खेल्दैछ।
विश्वका उत्कृष्ट क्रिकेट खेलाडीका लागि लर्डस्मा खेल्न सहज भए पनि एसोसिएट राष्ट्रका खेलाडीका लागि त्यति सहज हुँदैन। तर, नेपाली खेलाडीले दुई वर्षको फरकमा दोस्रो पटक लर्डसमा उत्रदैछन्।
यी तीन टोलीबीच एकै दिन हुन लागेको सिरिजमा प्रत्येक टोलीले दुई वटा खेल खेल्नुपर्नेछ। पहिलो खेलमा नेदरल्याण्ड्स र एमसीसी खेल्नेछन् भने दोस्रो खेलमा नेपालले घरेलु टोलीको सामना गर्नेछ। यसमा टेष्ट, ओडिआई र टी–२० आई खेलिसकेका आधा दर्जन हस्ती खेलाडी सहभागी हुनेछन्।
तेस्रो तथा अन्तिम खेल नेपाल र नेदरल्याण्ड्सबीच हुनेछ र यो खेलले टी–२० मान्यता पाउनेछ। नेपाल र नेदल्यान्डले यसै वर्ष चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि पहिलो पटक खेल खेल्न लागेका हुन्।
यसअघि बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापित भएका २ सय वर्ष पूरा भएको अवसरमा नेपालले दुई वर्षअघि यही मैदानमा पहिलो पटक खेल्ने मौका पाएको थियो ।
युरोप भ्रमणका समयमा लर्डसमा खेल्दा नेपाली टोली तीन वर्षपछि अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटमा फर्कन लागेको ह्यो। यसअघि सन् २०१५ को जुलाईमा पपुवा न्युगिनीविरुद्ध नेपालले अन्तिम ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको थियो।
बंगलादेशमा २०१४ मा भएको टी–ट्वान्टी विश्वकपमा छनोट भएसँगै नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। तर सन् २०१५ मा आयरल्यान्डमा भएको विश्व टी–ट्वान्टीमा खराव प्रदर्शन पछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता गुमाएको थियो। त्यसपछि यो नै नेपालले खेल्न लागेको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता हो।
त्रिकोणात्मक सिरिजअघि नेपालले इंल्याण्ड २ एक दिवसीय र २ ट्वान्टी ट्वान्टी गरी चार अभ्यास खेल खेलेको थियो। स्थानीय क्लबविरुद्धको खेलेका चार खेलमा नेपालले तीन जित निकालेको थियो।
लर्ड्सले निकालेको खेल तालिका अनुसार सिरिजको पहिलो खेल एमसिसी र नेदरल्याण्डबीच नेपाली समय अनुसार दिउँसो २:४५ मा सुरू हुनेछ।
२०७५ साउन १३ गते प्रकाशित