
८ साउन, काठमाडौं
नेपाल चिकित्सक संघको आह्वानमा अनशनरत डा. गोविन्द केसीको समर्थनमा चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल परिसरमा आजबाट रिले अनशन सुरु गरेका छन्। केसीले अनशन थालेको पच्चीस दिन भइसक्दा पनि सरकार वार्ता र समाधानका लागि गम्भीर नभएको भन्दै चिकित्सकहरु समेत रिले अनशनमा उत्रिएका हुन्।
रिले अनशन सुरु गर्नु अघि सम्बोधन गर्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकार निर्दयी र अमानवीय ढंगले प्रस्तुत भएपनि अहिसम्म संघले सभ्यरुपमा विरोध गरिरहेको बताए। उनले राज्यले शक्तिको दूरुपयोग गरेर पार्टी निकटका केही चिकित्सकलाई विरोधमा उतार्दैमा चिकित्सक संघ नडराउने बताए।
संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले डा. केसीले उठाएका माग सम्पूर्ण डाक्टरहरुको भएको बताउँदै केसीका पछाडि कोही छैन भन्ने सरकारलाई व्युझिँन आग्रह गरे। उनले सत्य र शान्तिका लागि लड्ने केसीका पक्षमा उत्रन आम नागरिकसँग अपिल गरे।
यसै गरी सोलिडारिटी फर जीकेसी अभियानको तेस्रो दिन वसन्तपुर डबलीमा डा. केसीको समर्थनमा सत्याग्रह जारी छ। नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार देशभरका आवासीय चिकित्सकहरुले काम छाडेका छन् भने देश भर बिना टिकट बिरामी जाँच भइरहेको छ।
२०७५ साउन ८ गते प्रकाशित