Mon. Mar 17th, 2025

वैदेशिक रोजगारीमा जाने नेपाली २० प्रतिशतले घटे

४ साउन, काठमाडौं

गत वर्ष समग्रमा काम खोज्दै विदेश जाने नेपालीको संख्या झण्डै २० प्रतिशतले घटेको छ । देशभित्रै राजनीतिक स्थिरता छाएको र खाडी मुलुकहरुमा पनि आर्थिक समस्याका कारण राम्रा रोजगारीको अवसर नपाएपछि विदेशिनेको संख्या घटेको हो । पछिल्लो समय मलेसियाको गन्तव्य रोकिएकाले पनि संख्यामा कमी आएको हुन सक्छ ।

गत आर्थिक वर्ष ०७४/७५ मा पुनः श्रम इजाजत लिनेसहित गरेर ६ लाख १२ हजार ६ सय ८५ जना युवा रोजगारीका लागि विदेश उडेको वैदेशिक रोजगार विभागले जनाएको छ । यसको अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा ७ लाख ५९ हजार २३० नेपाली कामका लागि विदेशिएका थिए । यसअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष १९ प्रतिशत कम नेपाली विदशे पुगेका छन् ।

गत वर्ष ३ लाख ५४ हजार ८२ जनाले विदेश जान नयाँ श्रम स्वीकृति लिएका थिए । यसको अघिल्लो वर्ष यो संख्या ३ लाख ९८ हजार ९७८ थियो । यसअनुसार विदेश जान श्रम स्वीकृति लिने नेपालीको संख्या पनि गतवर्षको तुलनामा ११ प्रतिशतले घटेको छ ।

यो वर्ष २ लाख ५८ हजार ६०३ जनाले भने विदामा आउँदा श्रम स्वीकृतिको रि-इन्ट्री गरेका हुन् । गत वर्ष यस्तो संख्या २ लाख ६० हजार २५२ थियो ।श्रम स्वीकृतिका आधारमा अघिल्लो वर्ष मलेसिया सबैभन्दा धेरै नेपाली जाने मुलुक बनेको छ । तर, रि-इन्ट्री गर्ने काकदारको संख्यासहितको तथ्यांकलाई आधार बनाउँदा भने कतार पहिलो स्थानमा देखिन्छ ।

२०७५ साउन ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: