Fri. Jan 31st, 2025

मकै जोन कार्यक्रमले किसानहरू लाभान्वीत

मनिष दुवाडी/ साउन ३,धादिङ –

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत मकैजोन विकास कार्यक्रम लागु भएपछि धादिङको ज्वालामुखी गाउँपालिका र नीलकण्ठ नगरपालिकाका किसानहरुलाइ फाइदा पुगेको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७३÷०७४ सालदेखी १० वर्षको लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना संचालन गरेपछि धादिङका जिल्लाका २ वटा पालिकाका मकैबालीको जोन विकास कार्यक्रम लागु भएको हो । मकैजोन विकास कार्यक्रम अन्तरगत ७८ कृषक समुह तथा सहकारी र एउटा कम्पनी गरि ७९ वटा सस्थाहरु जोन विकास कार्यक्रममा सुचिकृत भइ २ हजार ७ सय ७२ जना कृषकहले प्रत्यक्ष रुपमा विभिन्न कृषिअनुदान र सेवा लिदै आएका छन् ।

नीलकण्ठ नगरपालिकामा कुल ७ हजार ८ सय चालिस हेक्टर जमिन मात्रै खेतीयोग्य रहेको र त्यो मध्ये ३ हजार ४ हेक्टर जमिनमा मकैजोनको कार्यक्रम लागु भएको छ । त्यस्तै ज्वालामुखी गाउँपालिकामा ४ हजार ४ सय १ हेक्टर खेतीयोग्य जमिन रहेकोमा २ हजार १ सय ४६ हेक्टर जमिनमा मकैजोन कार्यक्रम लागु गरिएको छ ।

मकैबालीको उत्पादन बृद्धि गराउनको लागि प्रधानन्त्री कृषि आधुनिकिकरण परियोजनाको परियोजना कार्यन्वयन इकाइ धादिङवेशीले जिल्लामा सुचिकृत भएका विभिन्न ७९ वटा समुहको मागको आधारमा बीउ विजन, मलखाद, कृषि औजार र उपकरणहरु अनुदानमा उपलब्ध गराउदै आएको छ । त्यस्तै उन्नत बीउ उत्पादन गर्ने कृषक समुह र सहकारीलाइ पनि ५० प्रतिशत अनुदानमा मुल वीउ सहयोग दिने गरेको छ ।
किसानहरुकै मागको आधारमा परियोजनाले २ वर्षको अवधिमा १ सय ५५ वटा मिनि टिलर (खेतबारी जोत्ने हाते ट्याक्टर) ९० वटा मकै छोडाउने मेसिन ९८ वटा विषादी तथा भिटामिन छर्कर्ने स्प्रेयर र ८ वटा मकै रोप्ने मेसिन ५० प्रतिशन अनुदानमा उपलब्ध गराएको छ ।

परम्परागत प्रविधिबाट गरिदै आएको खेतीमा प्रविधिको प्रयोग गर्न थालेपछि उत्पादन पनि बढेको र काम गर्न पनि सजिलो भएको नीलकण्ठ १३ मधुवनका कृषक होमकुमारी गुरुङले बताइन् । उनले भनिन्, ‘मकैजोन कार्यक्रम हाम्रो गाउँपनि लागु भएपछि मकैको उत्पादन पनि राम्रो भएको छ, हामीले समुह पनि बनाएका छौँ, समुहलाइ ट्याक्टर, मकै छोडाउने मेसिन पनि अनुदानमा प्राप्त भएको छ । प्राविधिक सरसल्लाह नियमित रुपमा लिन पाइएको छ ।’

उन्नत वीउ उत्पादन गरि विक्रि वितरण गर्ने सहकारी र समुहहरुलाइ पोष्ट हार्भेष्ट सेन्टर(वीउ भण्डार गृह) निर्माणको लागि परियोजनाले ८५ प्रतिशत अनुदानमा भण्डार गृह बनाइदिएको छ । नीलकण्ठ नगरपालिको वडा नं ७ तारुखर्क, वडा नं ८ ससाह, वडा नं १२ साँकोष, वडा नं ४ पौवा र ज्वालामुखी गाउँपालिकाको वडा नं ३ अमराइमा गाउँमै उत्पादित उन्नत वीउको भण्डारण कक्ष निर्माण गरिसकिएको छ । भण्डार गृह निर्माण भएपश्चात वीउको सुरक्षा गर्न र विक्रीवितरण गर्न पनि सजिलो भएको नीलकण्ड ८ का किसान किसान सुपसिंह तामाङले बताए । अरुको जग्गा भाडा लिएर मकैखेती गर्दै आएका तामाङले गत वर्षको उत्पादनबाट साढे १५ मेट्रिक टन मकैको उन्नत विउ विक्री गरेर ७५ लाख रुपैया आम्दानी गरेका थिए ।

त्यस्तै परियोजनाले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान पनि दिने गरेको छ । अघिल्लो सिजन मकै उत्पादन गरेको आधारमा ४४ वटा समुहका १७ सय ५१ कृषकहरुलाइ ४३ लाख ९८ हजार ५ सय रुपैया नगद नै सहयोग गरेको छ । घरपालुवा गाइबस्तुको मलको सुरक्षा र गुणस्तर बृद्धिको लागि ३८ वटा कृषक समुहका २ सय ४८ किसानहरुको लागि भकारो सुधारमा सहयोग गरेको छ ।

मकै बालीको उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्दै मकैजन्य उद्योगहरु संचालनमा ल्याउनको लागि आधुनिक, ब्यवसायिक, दिगो र आत्मनिर्भर कृर्षि क्षेत्रको विकास गर्नको लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले मकै जोन कार्यक्रम संचालन गरेको परियोजना कार्यन्वय इकाइका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत होमनाथ लंसालले बताए । उनले भने, ‘मकै जोन बनाएर कार्यक्रम लागु भएपछि उत्पादनमा पनि बृद्धि भएको छ । अघिल्लो सिजनमा मकै जोन लागु भएका ठाउँहरुमा प्रतिहेक्टर ३ दशमलव १ मेट्रिक टन उत्पादन भएको थियो, यस वर्ष २० प्रतिशतले बृद्धि हुने अनुमान छ ।’
लंसालको अनुसार मकै खेतीको विकास र प्रवद्र्धनको लागि ५ हेक्टर जमिनमा हिउदे मकै उत्पादन गरिएको छ भने ३ हेक्टर जमिनमा हाइव्रीड मकै उत्पादन तथा प्रदर्शन कार्यक्रम पनि संचालन गरिएको छ । धादिङ जिल्लामा मकै जोन विकास कार्यक्रमको अलावा दक्षिणी क्षेत्रमा तरकारी जोनको कार्यक्रम समेत लागु गरिएको छ ।

२०७५ साउन ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: