

३१ असार, धादिङ –
विश्वकप फुटबल २०१८ को उपाधि फ्रान्सले हात पारेको छ । रुसमा भएको अन्तिम खेल अर्थात उपाधि भिडन्तमा आइतबार फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गरे ।
खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि क्रोएसियाले २८ औं मिनेटमै गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो । उसका लागि इभान पेरिसिकले बराबरी गोल गरे ।
क्रोएसियाले खेल बराबरीमा ल्याएको १० मिनेटमै फेरि फ्रान्सले पेनाल्टी पायो र अग्रता लिने मौका पायो । कर्नर बलमा क्रोएसियाली डिफेन्डरले ह्याण्ड गर्न पुग्दा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोनि ग्रिजम्यानले गोलमा परिणत गरे ।
दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो । फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे ।
क्रोएसियाका लागि सान्त्वना गोल मारियो मान्जुकिजले ६९ औं मिनेटमा गरे । फाइनल भिडन्तमा दुवै टिमले आक्रमक हुँदै एकअर्काविरुद्ध उत्रिरहेका थिए ।
२०७५ असार ३१ गते प्रकाशित