

२७ असार, काठमाडौँ –
नेकपाको सचिवालय बैठकले नियमावली पारित गरेको छ । बुधबार बिहान बसेको बैठकले नियमावली पारित गरेसँगै पार्टी विधानको पनि अन्तिम टुङ्गो लागेको छ। पार्टी विधानमा भएका कतिपय व्यवस्थालाई थप प्रष्ट पार्न नेकपाले नियमावली निर्माणको प्रयास थालेको थियो। यसका लागि महासचिव बिष्णु पौडेलको नेतृत्वका समिति बनाइएको थियो।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।
बैठकपछि पत्रकारहरुसँग उनले भने, ‘विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिने काम भयो । अब छिट्टै प्रकाशनमा जाने छ ।’
अब अर्को बैठक बसेर विधान र नियमावली अनुसार सबै पार्टी कमिटीहरुको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने श्रेष्ठले जानकारी पनि दिए । पार्टीका कमिटी र जनवर्गीय संगठनहरुको एकताको गृहकार्य गर्न कार्यदलस्तरमा छलफल हुँदै आएको छ ।
२०७५ असार २७ गते प्रकाशित