
२५ असार, काठमाडौं –
जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् ।
जापानका १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ ।
जापानको क्योडो समाचार एजेन्सीका अनुसार पहिरोमा धेरै व्यक्तिहरु जिउँदै पुरिएका छन् । अधिकांशको मृत्यु हिरोसिमाको प्रिफेक्चरमा भएको छ ।
सेना, प्रहरी र सहायताकर्मीहरु उद्धार तथा राहतमा परिचालित छन् । प्रधानमन्त्री सिन्जो आबेले भनेका छन्, ‘उद्धारकर्मीहरुले समयको सामना गरिरहेका छन् । धेरै व्यक्ति हराइरहेका छन् र धेरैलाई सहायता चाहिएको छ ।’
गत विहीबारदेखि जापानको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ । जापानको मौसम विभागका अधिकारीहरुका अनुसार राजधानी टोकियोबाट करिब ६ सय किलोमिटर टाढा पर्ने मोटोयामा शहरमा शुक्रबार बिहानबाट शनिबार बिहानसम्म ५८३ मिलिमिटर वर्षा भएको छ । यो रेकर्ड हालसम्मकै उच्च हो ।
२०७५ असार २५ गते प्रकाशित