धादिङ – कृषि विकास कार्यालय धादिङले जिल्लालाई मकै वीउमा आत्मनिर्भर बनाउन ४ वर्ष अघि थालिएको प्रयास हाल सफल हुँदै गएको छ । विभिन्न गैरसरकारी संस्था, अनुभवी अगुवा कृषक, सहकारी संस्था र कृषक समुहहरुसंग गरेको सहकार्य सफल हुदै गएको हो ।
किसानकहरुबाट नयां तथा उन्नत जातको मकैको विउको माग बढ्दै गएपछि आपूर्ति जिल्ला भित्रबाट पुरा गर्न मकै बिउ उत्पादन कार्यक्रम अन्र्तगत जिल्ला कृषि विकास कार्यालय तथा पहाडी मकैवाली अनुसन्धान कार्यक्रम (सिमिट) र अन्य साझेदार संस्थाको साझेदारीमा शुरु गरिएको उन्नत जातको मकै वीउ उत्पादन कार्यक्रमबाट सफल तथा आत्मनिर्भर हुदैं गएको वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौटालले बताउनुभयो ।
मकै वीउ उत्पादन गर्न आवश्यक पर्ने ग्रेडिङ मेसिन, इलेक्निक कन्सुलर मेसीन (मकै वी छोडाउने मेसिन) व्याकिङ, ट्याकिङ सहयोग र प्राविधिक सीप मकै वीउ उत्पादक कृषकलाई हस्तान्तरण गरिसकेको र कृषकहरुले सिकेको सीपको आधारमा काम गरिरहेको कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थीले जानकारी दिनुभयो । जिल्लालाई मकैमा आत्मनिर्भर बनाउन र कृषकहरुको मकै खेती गर्ने उत्साहमा कमी हुन नदिन अवको २ वर्षमा मकैको वीउमा जिल्लालाई पूर्ण आत्मा निर्भर बनाउने योजनाका साथ काम भईरहेको छ पन्थीले थप्नुभयो । जिल्लामा गणेश हिमाल कृषि वीउ विजन व्यापार व्यावसाय कम्पनी र जिल्ला स्तरीय वीउ वैंक समेत स्थापना भईसकेको छ ।
जिल्लाका ४६ गाविस र १ नगरपालिकामा १९ हजार ४ सय ६८ हेक्टर क्षेत्रफलमा मकैवाली उत्पादन हुने गरेको र त्यसका लागि ३ सय ८९ मेट्रिकटन वीउ लाग्नेमा ७० मेट्रिकटन वीउ उत्पादन भएको छ । ३ सय १९ मेट्रिकटन वीउ कृषकहरुले परम्परागत तरीकाबाट तयार गरेको वीउ वा बाहिरबाट ल्याएर लगाउनु पर्ने छ । जिल्ला कृषि विकास कार्यालयले वीउ उत्पादन गर्न नीलकण्ठ नगरपालिका र गुम्दी गाविसमा १३ क्यून्टल मूल वीउ किसानलाई दिएको छ । बृहत्तर मकै, खायन मकै, उत्पादन गर्न नीलकण्ठ नगरपालिका, खाल्टे, मैदी, कटुञ्जे, ज्यामरुङ, त्रिपुरेश्वर , सल्याटार, फूलखर्क र मूलपानी गाविसका किसानहरुलाई २३ मेट्रिकटन वितरण गरेको छ । यसैगरी किसानलाई उन्नत वीउ बानी पार्न १५ क्यून्टल मकैको वीउ जिल्लाभर सेवाकेन्द्र मार्फत वितरण गरेको अधिकृत पन्थीले बताउनुभयो । जिल्लामा हाल ३१ हजार ३ सय ४४ मेट्रिकटन मकै उत्पादन हुदै आएको छ ।