Mon. Mar 17th, 2025

नेपालमा चिनियाँ लगानी गणनायोग्य : प्रधानमन्त्री

६ असार, बेइजिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताएका छन् ।

चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले आज बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा गरिने लगानी वास्तवमै नाफामूलक उद्योगका रुपमा रहने अवगत गराए ।

सरकारले विदेशी लगानीका लागि व्यवहारतः उपयुक्त वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै स्थिर तथा समृद्धिका लागि प्रतिबद्ध सरकारले ती क्षेत्रमा चिनियाँ लगानी वृद्धि हुने अपेक्षा गरेको पनि जानकारी गराए ।नेपालमा दर्ता भएका विदेशी लगानीकर्ताले आफ्ना जग्गा खरिद बिक्री गर्नसक्ने भन्दै स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै पनि प्रकारको विभेद नरहेको र निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति नभएको स्पष्ट पारे ।

नेपालमा सहज र सुलभ श्रमशक्ति पाइने, विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगका लागि निश्चित अवधिसम्म करका दायरा खुकुलो रहेको जानकारी दिँदै प्रधानमन्त्रीले सन् २०१६ मा आफ्नो भ्रमणका क्रममा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताले आर्थिक विकासको पूर्वाधार खडा गर्ने र दुवै मुलुक सीमापार आर्थिक क्षेत्र तथा रेलमार्ग अगाडि बढाउन प्रतिबद्ध रहेको पनि जानकारी गराए ।हालै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकताले नेपालमा राजनीतिक स्थिरता निर्माण गर्ने र स्थिरतासँगै स्पष्ट मार्गचित्रका साथ समृद्ध नेपाली सुखी नेपालीको लक्ष्य लिई विकास र समृद्धितर्फको यात्रा तय गरेको बताए ।

राजनीतिक स्थिरताले नीतिगत निरन्तरता र एकरुपता ल्याउनुका साथै विदेशी लगानीको पूर्वशर्तका नीतिमा थप प्रष्टता हुने उनले स्पष्ट पारे ।नेपाल र चीनबीच प्राचीनकालदेखि भूगोल, संस्कृति र परम्पराका आधारमा मैत्री सम्बन्ध रहेको र यो राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समेत फैलिएको उल्लेख गर्दै प्रधानमन्त्रीले ‘नेपाल एक चीन नीति’प्रति प्रतिबद्ध हुँदै चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सिद्धान्तमा अविचलित रहेको दृढता पेश गरे ।

२०७५ असार ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: