Fri. Jan 31st, 2025

अझै केही दिन हुन सक्छ हिले वर्षा

४ असार, धादिङ –

अरब सागरसहित थार मरुभूमिबाट आएको धुलोले नेपालसहित भारतमा पनि धमिलो वर्षा भएको छ । तराईदेखि पहाडी क्षेत्रसम्म शुक्रबार बेलुकाबाट धुलोसहित पहेँलोखालको हिले वर्षा भइरहेको हो ।

भारतको राजस्थान हुँदै नेपालसम्म आएको पश्चिमी वायुका कारण धुलोसहितको पहेँलो वर्षा भएको हो । यसरी आएको धुलो साढे २ देखि ३ किलोमिटर आकाशमाथि देखिएकाले हिमाली क्षेत्रमा यसको प्रभाव देखिएको छैन ।

शुक्रबारराति बाहिर राखिएका सामानमा धुलै–धुलो देखिएपछि सार्वसाधारण एकछिन अचम्मित भएका थिए । यस्तो खालको वर्षा नेपालमा पहिलोपटक भएको बताइन्छ । जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाका अनुसार अझै धुलो आउने क्रम जारी रहेकाले केही दिन यस्तो खालको वर्षा हुन सक्छ ।

कस्तो प्रकृतिको धुलोसहितको पानी परेको हो भन्ने विषयमा अहिले भन्न नसकिए पनि बाहिर हिड्दा शरीर ढाक्ने गरी कपडा लगाउन चिकित्सकहरूले सुझाव दिएका छन् । यस्तो पानीको प्रयोगले झाडाबान्ता, टाइफाइड, जन्डिसजन्य महामारीका साथै छाला र आँखाको समस्या निम्ताउने खतरा पनि हुन्छ । विज्ञहरुको अनुसार दूषित वर्षा भइरहेकाले भिज्नु पनि हानिकारक हुन्छ । विज्ञहरुले पानीमा नभिज्न र काठमाडौंको धुलोबाट समेत सचेत रहन सुझाएका छन् ।

२०७५ असार ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: