२० चैत, धादिङ – बैक खातामा रहेको हिसाब विवरण माग्न निवेदन सहित कार्यालय पुगेका ग्राहकमाथी सिभिल बैक धादिङका कर्मचारीहरुले दुव्र्यहार गरेका छन् ।
धादिङबेसीमा रहेको न्यू किबो बोर्डिङ स्कुल प्रा.लि.का अध्यक्ष रामकृष्ण अधिकारीमाथी शुक्रबार बैकका कर्मचारीहरुले गालीगलौज गरी धम्काएका हुन् । आधिकारिक रुपमा निवेदन लिएर कम्पनीको हिसाब विवरण माग्न जाँदा बैकका प्रबन्धक सुजित भारीले तँ फटाहा होस्, नैतिक चरित्रहिन मान्छे होस्, तलाई हिसाब विवरण दिन मिल्दैन, त जस्तो ग्राहक हामीलाई चाहिदैन भन्दै गाली वेइजती गरेको अध्यक्ष अधिकारीको भनाई छ । बैकका प्रबन्धक सुजित भारी र कर्मचारी आदित्य लोहनीले निवेदन दर्ता दर्ता समेत नगराएर उल्टै धम्काएको पीडित अधिकारीले बताउनुभयो ।
आफुले लगेको निवेदन बैकले दर्ता नगरी दरपीट समेत नगरेपछि जिल्ला हुलाक कार्यालय मार्फत अधिकारीले निवेदन सिभिल बैकमा पठाउनुभएको छ । आफ्नो कम्पनीको बैक खातामा भएको रकम बैकका कर्मचारीहरुकै मिलेमतोमा हिनामिना भएकोले हिसाब विवरण नदिएको हुनसक्ने कम्पनीका अध्यक्ष अधिकारीको भनाई छ । न्यू किबो बोर्डिङ स्कुल प्रा.लि.को नाममा रहेको खाता संचालक अधिकारीमाथी यस अघि पनि बैकमा कारोबारका लागि पुग्दा बैकका कर्मचारीहरुबाट पटक पटक दुव्यवहार भएको उहाँको गुनासो छ ।
सिभिल बैकमा न्यू किबो बोर्डिङ स्कुल प्रालिले वार्षिक एक करोड बराबरको बारोबार गर्दै आएको कम्पनीले जनाएको छ । अधिकारी नेपाल बार एशोसियसन धादिङका उपाध्यक्ष र उपभोक्ता हित संरक्षण मञ्च धादिङका सचिव समेत हुनुहुन्छ । बैकका कर्मचारी आदित्य लोहनीले भने अधिकारीमाथी कुनै नकारात्मक व्यवहार नभएको बताउनुभएको छ । ३ जनाको नाममा खाता रहेकोमा अध्यक्ष एकजनालाई मात्र हिसाब विवरण दिन नसकिएको र दरपीट गराउने चलन नभएको बताउनुभएको छ ।