
३१ जेठ, काठमाडौं
फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।
इङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका ओपेरा गायक प्लासिडो डोमिगो आकर्षणको केन्द्र हुने छ । यसको अलावा जुआउन डिएगो फ्लोरेज र गरीफुल्ल्निाले पनि आफ्नो प्रस्तुती दिनेछन् ।
स्टेडियमको सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । कुनै विपत आइपरेमा लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा राखिएको छ ।उदघाटन समारोहमा ब्राजिलियन फुटबलर पेले स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने भएका छन् तर रोनाल्डोलाई भने देख्न सकिने छ ।
विश्वकपको पहिलो म्याच आयोजक रुस र साउदी अरबबीच हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका ८ः४५ मा सुरु हुनेछ ।विश्वकपको प्रतिस्पर्धामा ३२ टिम सहभागी हुनेछन् । यी टिमलाई आठ समूहमा बिभाजन गरिएको छ । एउटा समूहमा चार–चार राष्ट्र छन् । हरेक समूहबाट दुई राष्ट्र नकआउट चरणमा पुग्नेछन् ।
आइसल्याण्ड र पनामाले रुस विश्वकपबाट डेब्यू गर्दैछन् । रुस विश्वकपबाट पहिलोपटक भिडियो रेफरल प्रणाली प्रयोगमा ल्याइँदैछ ।
२०७५ जेठ ३१ गते प्रकाशित