

२५ जेठ, धादिङ –
धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं. ६ मा रहेको रानीझरना (छाँगा) मा क्यानोनिङ महोत्सव सुरु भएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन तथा पर्यटन व्यवसायीहरुको आम्दानीको स्रोत बढाउनका लागि नेपाल क्यानोनिङ एशोसिएसनले महोत्सवको आयोजना गरेको हो ।
क्यानोनिङ गर्न धादिङ, काठमाडौँ लगायत अन्य जिल्लाका आन्तरिक पर्यटकहरुको उपस्थिति रहेको छ । जेठ २५ र २६ गते संचालन हुने महोत्सवमा आन्तरिक पर्यटकहरुले क्यानोनिङको मज्जा दिएका छन् ।
क्यानोनिङको नयाँ गन्तव्यको रुपमा लिइएको जिल्लाको थाक्रे गाउँपालिकाको वडा नं. ४ र ६ को सिमानामा तीनवटा छाँगा रहेका छन् । एकै स्थानमा रहेको तीन वटा फरक फरक शैलीको सुन्दर छाँगालाई क्यानोनिङ गन्तव्यको रुपमा विकास गर्नका गरी एकीकृत पर्यटन क्षेत्रको विकासको रुपमा विकास गर्ने आयोजकले जनाएको छ ।
एसियामा नै पहिलो पटक अन्तराष्ट्रिय क्यानोनिङ रन्देभू आयोजना गरेको नेपाल क्यानोनिङ एशोसिएसनले ओझेलमा परेका पर्यटकिय स्थलको खोजी गरी पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए ।
यस ठाउँमा लगातार तीन वटा छाँगो एक पछि अर्को गर्दै छङछङ सुसाउँदै ओर्लिएको दृश्यले नै सबैको मनलाई लोभ्याउने गर्दछ । हिउँद याममा समेत पर्याप्त पानी भएको पहिलो झरना २५ मिटर उचाईमा रहेको छ । क्यान्योनिङका लागि अति उत्तम रहेको सो झरना परापुर्व कालदेखि स्थानीयले गर्मियाममा पौडी खेलेर आनन्द लिने सुन्दर पोखरी (दह) समेत छ । करिव ४० मिटर लम्बाई, १० मिटर चौडाई र ३ मिटर गहिराइई दह भएको सो स्थान वरिपरी प्रकृतिले कोरेका सुन्दर आकृति युक्त पहराको बीचमा अवस्थित छ ।
दोस्रो झरना ९ मिटर उचाईमा उस्तै किसिमको दह भएको जम्पिङका निम्ति उपयुक्त झरना हो । बालबालिका र युवायुवतीका लागि स्वीमिङ गर्न यहाँ पर्याप्त स्थान छ । तेस्रो झरना एकान्तमा आनन्दमयी झरना हो । यहाँ जम्पिङ, स्वीमिङ, क्यानोनिङ सबै किसिमका खेल र मनोरञ्जन लिन सकिन्छ । एकान्त र शान्त वातावरण चाहने जो कोहीलाई घण्टौं हैन हप्तौंसम्म आकर्षित गर्दछ ।
२०७५ जेठ २५ गते प्रकाशित