
१९ जेठ, धादिङ –
धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं. ६ को रानीझरना (छाँगा) मा गाईड तालिम सुरु गरिएको छ ।
जिल्लाको पर्यटन प्रवद्र्धन तथा पर्यटन व्यवसायीहरुको आम्दानीको स्रोत बढाउनका लागि नेपाल क्यानोनिङ एशोसिएसनले तालिम संचालन गरेको हो । तालिम जेठ २४ गतेसम्म संचालन हुनेछ । तालिम पश्चात जेठ २५ र २६ गते क्यानोनिङ रन्देभू (महोत्सव) गर्ने आयोजकले जानकारी दिएको छ ।
एसियामा नै पहिलो पटक अन्तराष्ट्रिय क्यानोनिङ रन्देभू आयोजना गरेको नेपाल क्यानोनिङ एशोसिएसनले आफ्नो बार्षिक कार्यक्रम अनुसार पर्वतिय साहसिक पर्यटनको विकास र प्रवद्र्धनका लागि कार्यक्रमहरु संचालन गरिरहेको छ ।
नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र प्रर्वद्धन तथा अन्य पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्था र व्यवसायीहरुको सहयोगमा कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम अन्र्तगत हुने क्यानोनिङ रन्देभूमा आन्तरिक पर्यटकलाई प्राथमिकतामा राखेर क्यानोनिङका लागि सहभागीता गराउने जानकारी दिएको छ ।
क्यानोनिङ नयाँ गन्तव्यको रुपमा धादिङको थाक्रे गाउँपालिकाको वडा नं. ४ र ६ को सिमानामा अवस्थित छाँगो रहेका छन् । एकै स्थानमा रहेको तीन वटा फरक फरक शैलीको सुन्दर छाँगालाई क्यानोनिङ गन्तव्यको रुपमा विकास गर्न सके यसले भित्र्याउने एकीकृत पर्यटनले स्थानीयस्तरमा समृद्धिको आधारशिला खडा गर्न मद्धत गर्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।
तालिमको उद्घाटन कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कडेंल, धादिङका सांसद भूमि त्रिपाठी, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, टानका पूर्व अध्यक्ष चन्द्र रिजाल लगायत पर्यटन व्यवसायीहरुको सहभागीता रहेको थियो ।
२०७५ जेठ १९ गते प्रकाशित