Sun. Mar 16th, 2025

मलेसियामा रोजगारीका लागि जाने प्रक्रिया स्थगन

१२ जेठ, काठमाडौं

सरकारले मलेसियामा रोजगारीका लागि कामदार जाने प्रक्रिया स्थगन गरेको छ । पूर्व श्रम स्वीकृति समेत रोकेर सरकारले विभिन्न संयन्त्रमार्फत मलेसिया जाने कामदारबाट भईरहेको असुली रोक्ने संयन्त्र हटाउन मलेसियाली सरकारमाथि दबाव सिर्जना गर्न खोजेको छ । अब भिसा लागिसकेका बाहेक कामदार तत्कालै मलेसियामा जान पाउने छैनन् ।

मलेसियाको नयाँ सरकारले यस विषयमा औपचारिक प्रतिक्रिया जनाएको पनि छैन । मलेसियाको नेपालस्थित दूतावासले भने नेपालले अवैध घोषणा गरेर मलेसिया सरकारका तर्फबाट खडा गरिएका संयन्त्रमाथि थालेको छानविनमा सघाउने बताएको छ । त्यसका लागि उसले कामदारलार्इ भिसा दिने प्रक्रिया नै बन्द गरिदिएको छ । यसैको प्रतिक्रिया स्वरुप नेपाल सरकारले पनि मलेसियाबाट आउने मागपत्रमा पूर्व श्रम स्वीकृति दिन रोकेको छ । योसँगै वार कि पारको ‘लडाइँ’ सुरू भएको छ ।

पूर्व स्वीकृति रोकिएपछि  मलेसिया जाने कामदारमाथि भइरहेको अन्याय हटाउन मलेसियाको सरकारमाथि नैतिक दाबव पर्ने विश्वास श्रम तथा रोजगार मन्त्रालयको छ । मलेसियाको नयाँ सरकारले यहाँ विभिन्न नाममा कामदारसँग रकम असुल्ने गरी खडा गरिएका संयनत्र हटाउने निर्णय कहिले गर्छ भन्ने टुंगो छैन ।मलेसियाली श्रम बजारले तत्कालै स्वदेशी कामदरको बलमा विदेशी कामदारको विकल्प खोजिहाल्न सक्ने अवस्था पनि छैन । त्यसले कुटनीतिक रुपमा अहिले नेपालले उठाएको अवैध असुली बन्द गर्ने विषयलाई समाधान गर्ने विश्वास श्रम मन्त्रालयका अधिकारीलाई छ ।

मलेसियामा नेपाली कामदारको साख राम्रो भएकाले पनि त्यहाँको नयाँ सरकारले नेपालले उठाएका विषयलाई गम्भीर रुपमा लिनेमा अाशंका नरहेको श्रम मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।श्रममन्त्री बिष्ट पनि मलेसियाका प्रधानमन्त्री महाथिर विगतदेखि नै विदेशी कामदारका मुद्दामा सकारात्मक रहेका कारण नेपाली कामदारको समस्यालाई गम्भीर रुपमा लिएर समाधान गर्ने विश्वास व्यक्त गर्छन् ।

मन्त्रालयका एक अधिकारी द्विपक्षीय रुपमा सम्झौता नभई एकपछि अर्को संयन्त्र थप्दै नेपाली कामदारलाई विदेशिने समयमै ठूलो आर्थिक भार थप्नु कुटनीतिक र नैतिक हिसावले पनि गलत भएको बताउँछन् ।विभिन्न संयन्त्रहरु राखेर अहिले मलेसिया जाने कामदारमाथि झण्डै १८ हजार रुपैयाँ अतिरिक्त रकम उठाइँदै छ । यो सिन्डिकेटको जालो तोड्ने गरी सरकारले यसमा संलग्न नेपाली व्यवसायीहरुलार्इ पक्राउ गरेको छ ।

सरकारले यस्ता अवैध असुली गर्नेमाथि अनुसन्धान गरिरहँदा अब मलेसियामा नेपालीको रोजगारी के हुन्छ भन्ने अन्योल भने देखिएको छ । श्रम अधिकारीहरु भनेे केही समयपछि ऋणको भारी बोकेरै मलेसिया कामका लागि पुग्नुपर्ने अवस्था अन्त्य हुने दावी गर्छन् ।

२०७५ जेठ १२ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: