Wed. Nov 27th, 2024

नारायणगढ मुग्लिन सडकखण्डका वासिन्दाद्वारा पुनर्बासको माग

१० जेठ,धादिङ –

निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्ड नजिक घर भएका स्थानीय वासिन्दाले पुनर्बासको माग गरेका छन् । सडकखण्डमा पर्ने घरहरु भत्काउने सूचना आयोजनाले जारी गरेपछि स्थानीयहरुले उचित मुअब्जासहित पुनर्बास हुनुपर्ने माग गरेका हुन् ।

सडकछेउमा अस्थायी घर बनाएर बस्ने ४५ वटा घरको मूल्याङकन गरी पहिलो किस्ता रकमसमेत दिइसकिएको छ । आयोजनाले उचित मुअब्जासहित पुनर्बासको व्यवस्था गर्ने भने पनि बाँकी किस्ता मुअब्जा र पुनर्बासको व्यवस्थाका लागि पहल नगरी हटाउने सूचना जारी गरेको भन्दै आपत्ती जनाएका छन् ।

आयोजनाले जेठ ४ गते ५ दिनभित्र घर भत्काउन भन्दै सूचना जारी गरेको थियो । सो सूचनाको अवधि सकिएको छ । पीडितहरुले जेठ ६ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर उचित पुनर्बासको माग गरेका हुन् । भरतपुर महानगरपालिका २९ मा १० र इच्छाकामना गाउँपालिकामा ३५ घर भत्काउने सूचीमा राखिएको छ ।

तीमध्ये सडकखण्डका अति जोखिम १२ घर भत्काइसकिएको छ । पीडितमध्येका एक मैते गुरुङले मुआब्जा र पुनर्बासको कुरा पहिला गरेर अहिले झुक्याइएको गुनासो गरे । उनले भनेबमोजिम नभए बसिरहेको स्थानबाट अन्यत्र नजानेसमेत बताए ।

आयोजनाले घरको अवस्था हेरी ७० हजारदेखि १४ लाखसम्म मुअब्जा दिने मूल्य तोकेको थियो । त्यसको ३० प्रतिशत रकम पहिलो किस्ता स्वरुप मुअब्जा पाएका छन् । इच्छाकामना गाउँपालिका ६ का वडाध्यक्ष नारायण घर्तीले गाउँपालिका, आयोजना जिल्ला प्रशासन र सांसदहरुलाई समस्या समाधानका लागि पहल गरिएको जानकारी दिए ।

पीडितहरुलाई पुनर्बास गराउन भन्दै भरतपुर महानगरपालिकाको रामनगर, सिमलढाँप, आँपटारी क्षेत्रमा जग्गा पनि हेरिएको थियो ।

सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५/२५ मिटर क्षेत्र सडकको भागमा पर्दछ । ती अधिकांश घर सडकको भागमा नै पर्दछन् । सडकको एकापट्टी नदीको तिरमा साना घरहरु छन् भने अर्कोपट्टी छेउमा ६० मिटरसम्म अग्ला पहाड रहेका छन् ।

२०७५ जेठ १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: