१६ चैत, धादिङ – धादिङको नीलकण्ठ नगरपालिका वडा न – ४ स्थित पौवा नजिकै सोमबार दिउँसो परेको चट्याङका कारण तीन जना किरियापुत्री घाइते भएका छन् ।
दिउँसो पानी परिरहेको स्थानीय तिलक बानियाको घरमा परेको चट्याङले किरियापुत्री बसेका ४० वर्षीय तिलक बानियाँ, ३६ वर्षीय सानुबाबु बानियाँ र २३ वर्षीय सन्जय बानियाँ घाइते भएको प्रहरीले जनाएको छ । चट्याङ परेर केही घरको विद्युत मिटरमा समेत क्षति भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै चट्याङका कारण गजुरी गाउँ विकास वडा नम्बर – ९ को ३ घरमा क्षति पुगेको छ ।
चट्याङ्ङले गजुरी – ९ तिरासीका सेरबहादर थिङ, सन्जबहादुर थिङ र जयगोपाल रुम्बाको घरमा राखिएको विद्युत मिटरबक्स जलेको छ । चट्याङ्का कारण स्थानीय सन्जबहादुर र एक महिला घाइते भएको स्थानीय सन्तबहादुर तामाङले जानकारी दिनुभएको छ । सन्जबहादुरको घरमा परेको चट्याङले अन्य दुई घरमा समेत क्षति पुगेको बताइएको छ ।