७ जेठ, काठमाडौं –
सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार संघीय संसद्मा पेस गर्दै छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक चार बजे बस्ने छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने विशेष कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरु, सरकारका उच्च अधिकारीहरु, संवैधानिक आयोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु र कूटनीतिक नियोगका प्रमुखहरुलाई पनि निम्त्याइएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठक बस्नेछ । ति बैठकले राष्ट्रपतिप्रति धन्यवाद व्यक्त गर्नेछन् ।
सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने छ । छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफसमेत दिनेछन् । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारित गर्नका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत हुनेछ ।
२०७५ जेठ ७ गते प्रकाशित