Wed. Nov 27th, 2024

नौ महिनामा २२ अर्बको चामल आयात,भन्सार बढाउन सिफारिस

१ जेठ, काठमाडौं

चामलको आयात अत्यधिक बढ्न थालेपछि त्यसमा अंकुश लगाउन सरकारले भन्सार महसुल बढाउने प्रक्रिया अघि बढाएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चामलमा भन्सार महसुल वृद्धि गर्न सिफारिस गरेको हो । मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले चामलमा भन्सार महसुल १० प्रतिशत बढाउने प्रस्ताव अर्थ मन्त्रालय पठाइएको जानकारी दिए ।

हाल चामलमा ५ प्रतिशत भन्सार छ । कृषि सुधार शुल्क अन्तर्गत उक्त कर असुल गरिँदै आएको छ ।

मन्त्रालयले सात मिलिमिटरभन्दा लामो, मिठो, मसिनो र बास्नादार चामलमा भन्सार बढाउने प्रस्ताव गरेको हो । यी चामलको बजार मूल्य तुलनात्मक रुपमा बढी पनि छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत यसको सम्बोधन हुने विश्वास मन्त्रालयको छ । चामलमा भन्सार वृद्धि गर्दा त्यसको आयात न्यूनीकरण हुने तथा स्वदेशी किसान र उद्योगलाई पनि प्रवर्द्धन गर्न सहयोग मिल्ने विश्वास मन्त्रालयको छ ।यसैगरी कृषि सुधार शुल्कअन्तर्गत धानमा लाग्दै आएको ८ प्रतिशत भन्सारलाई न्यूनतम ३ प्रतिशतसम्म झार्नुपर्ने प्रस्ताव मन्त्रालयले गरेको छ ।

 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो नौ महिनाको अवधिमा झण्डै २२ अर्ब रुपैयाँ मूल्य बराबरको चामल आयात भएको छ । गत आर्थिक वर्षमा चामल आयात २४ अर्ब रुपैयाँ मूल्य बराबरको पुगेको थियो ।

केही समयअघि सरकारले चिनीको भन्सार महसुल १५ प्रतिशतबाट दोब्बर बढाएर ३० प्रतिशत पुर्‍याएको थियो । भलै हालैमात्र सर्वोच्च अदालतले भन्सार महसुल वृद्धिको सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

२०७५ जेठ १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: