Wed. Nov 27th, 2024

नेपाल टेलिकमको नाफा पाँच प्रतिशतले वृद्धि

 

३१ वैशाख,काठमाडौं

नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लखे भए बमोजिम ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा भएको देखिएको हो। यो कम्पनीको गत वर्षको सोही अवधिको तुलनामा ४.७२ प्रतिशत वृद्धि भएको हो। गत वर्ष सोही अवधिमा कम्पनीले ११ अर्ब ३२ करोड १८ लाख १९ हजार रुपैयाँ मुनाफा गरेको थियो।

कम्पनीले गत साउनदेखि चैत मसान्तसम्मको वित्तीय विवरण हालै सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ अर्ब ८६ करोड ८९ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थियो। यस विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले तीन प्रतिशत बढी आम्दानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार र अन्यबाट चार अर्ब ४६ करोड ११ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको उक्त अवधिमा कम्पनीको सेवा बिक्रीबाट २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट तीन अर्ब ११ करोड ९४ लाख ५४ हजार रुपैयाँ आम्दानी भएको थियो।

वित्तीय विवरणका आधारमा कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ। भने, जगेडा कोषमा ७९ अर्ब ६९ करोड पाँच लाख १५ हजार रुपैयाँ जम्मा भएको छ। कम्पनीका अनुसार हाल सेवाग्राहीको भ्वाइसभन्दा डाटा सेवातिर बढिरहेको देखिएको छ। साथै कम्पनीले हालको तीव्र प्रतिस्पर्धात्मक दूरसञ्चार बजारमा अग्रणी रहन सेवाग्राहीको माग तथा रुचीअनुरूप आकर्षक भ्वाइस तथा डाटा प्याकेज ल्याउनुका साथै समयानुकुल शुल्कमा परिमार्जन गर्दै आएको छ।

यसले गर्दा सेवा बिक्रीको आम्दानीमा अस्थायी रुपमा प्रभाव पर्न गएको हो। हालको अवस्थामा बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै जाँदा र भाइबर, स्काइप, म्यासेन्जर जस्ता ओटीटी सेवाको प्रभावका कारण अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी घटिरहेको छ, जुन विश्वव्यापी रुपमा देखिएको प्रवृत्ति हो। यद्यपि हाल कम्पनीको आर्थिक अवस्था सन्तोषजनक नै रहेको कम्पनीले जनाएको छ।

२०७५ बैसाख ३१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: