१६ बैशाख, धादिङ –
भूकम्पले विद्यालय भवन भत्किएपछि खुल्ला आकाशमा पढाउन बाध्य भएका विद्यालयमा नयाँ भवन निर्माण गरिएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १ चिम्माङमा रहेको महादेवस्थान आधारभूत विद्यालय र वडा नं २ मा रहेको सीतामाई आधारभूत विद्यालयमा भवन निर्माण गरिएको छ । निर्माण गरिएको भवन एक कार्यक्रमको आयोजना गरि बेनिघाट रोराङ गाउँपालिकाकाअ अध्यक्ष पीत्तबहादुर डल्लाकोटीले हस्तान्तरण गरे ।
निर्माण गरिएको विद्यालय भूकम्प प्रतिरोधी छ भने छात्र, छात्रा र अपांगमैत्री शौचालयको पनि निर्माण गरिएको छ । १/१ वटा भवनमा दुई दुई कोठासहित विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ । ह्विलचियर गुड्ने गरी विद्यालय तथा शौचालयहरुको संरचना निर्माण गरिएको छ ।
भूकम्पपछि खुल्ला आकाशमा पढेर शिक्षा लिई रहेका विद्यार्थीहरुले नयाँ भवन पाएका हुन् । विनाशकारी भूकम्पले विद्यालयको भवन भत्किएपछि अस्थायी टहरामा पठनपाठन संचालन भइरहेको थियो । अहिले भने पक्की भवनमा पठनपाठन सूचारु भएको छ ।
भवन नहुदाँ कतिपय बालबालिकाहरु विद्यालय छाड्दै गइरहेको महादेवस्थान आधारभूत विद्यालयका प्रधानाध्यपक सीमा रावलले बताइन् । घाम र पानी सहदै खुल्ला ठाउँमा पढ्दै आइरहेका विद्यार्थीहरु नयाँ भवन पाएसँगै खुसी भएको उनले बताइन् ।
प्रयत्नशिल सामुदायिक समाज नेपाल (प्रयास नेपाल) र युनाइटेड मिसन टु नेपाल (युएमएन) को साझेदारीमा निर्माण भएको हो । दुई बिद्यालयमा गरि कुल रु.४४ लाख ६१ हजार ५ सय ८३ लागतमा बिद्यालय भवन निर्माण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए । जिल्लाको बेनिघाट रोराङ र गजुरी गाउँपालिकामा भूकम्पपछि ३९ वटा विद्यालयमा पक्की भवन निर्माण तथा पुननिर्माण भएका छन् ।
२०७५ बैशाख १६ गते प्रकाशित