
४ बैशाख, काठमाडौ
नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते लेनिन जयन्तीको दिन गर्ने भनिएको पार्टी एकता नहुने भएको छ ।
मंगलबार बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणका लागि तयारी नपुगेको ठहर गरेको छ ।
बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘नौ गते गर्ने भनिएको एकतालागि तयारी पुगेन । त्यसैले त्यसदिन एकता घोषणा हुनेछैन ।’
एमाले महासचिव इश्वर पोखरेलले भने, ‘दुई पार्टीको एकता हुनेमा दुई मत छैन । अहिलेलाई तयारी नपुगेकाले ९ गते घोषणा हुँदैन।’
पार्टी एकताको अन्तिम टुङ्गो गर्ने जिम्मा दुवै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई दिने निर्णय आजको बैठकले गरेको छ ।
पार्टी एकता संयोजन समितिको आजको बैठकमा यसअघि गठित राजनीतिक कार्यदल र संगठनात्मक कार्यदलको प्रतिवेदनमाथि गहन छलफल भएको नेताहरुले जानकारी दिए ।
२०७५ बैशाख ४ गते प्रकाशित