Mon. Jan 27th, 2025

गर्मीमा आँखालाई यसरी गरौँ हेरचाह्र (भिडीयो सहित)

रामसिंह तामाङ

आँखा हाम्रो शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो । आँखाकै कारण संसार देखिने भएकोले शरीरका अन्य अंगमध्ये यसको अझै बढी महत्व छ । आँखामा विभिन्न खाले समस्याहरु देखा पर्छन् । त्यसमा पनि गर्मीको समयमा आँखामा बढी समस्या देखा पर्छ । गर्मीमा आँखा पाक्ने, चिलाउँने र आखा पोल्ने समस्याले बढी सताउँछ । गर्मीयाम सुरु भएसँगै अस्पतालहरुमा बिरामीहरुको चाप बढ्ने गर्छन् । आँखा पाक्ने, पोल्ने लगायतका समस्या बोकेर अस्पतालमा धाउने गर्छन् । आँखामा हुने विविध समस्या तथा समाधानका उपायहरुका बारेमा सामुदायिक आँखा अस्पताल धादिङका इन्चार्ज रामसिंह तामाङसाग पाविलन्युज डट कमका अनिता शाक्य र सृजना लम्सालले गरेको कुराकानीको सारसंक्षेप

 गर्मी मौसममा आँखाको हेरचाह कसरी गर्न सकिन्छ ?
गर्मी मौसममा आँखाको हेरचाह गर्नु निकै आवश्यक छ । जाडो मौसममा भन्दा गर्मी समयमा बढी मात्रामा आँखामा समस्या हुने गर्दछ । गर्मी मौसममा आँखाको रोग मात्र नभएर मानिसहरुमा धेरै रोगहरु देखा पर्दछन् । यो मौसममा बढि धुवाँ धुलोहरु हुने, हावाहुरीहरु बढि चल्ने भएको कारणले गर्दा स्वभावैले रोगहरु बढि लाग्ने गर्छ । किरा फट्याङ्ग्राहरु झिङ्गाहरु बढि हुने भएको कारण बढि फोहोर भएकै कारण यो आँखाहरु पाक्ने समस्याहरु देखा पर्दछ । गर्मी मौसममा धुलो, धुँवा, बढी हुने तथा रुखमा फूल फुलेर झर्ने हुनाले पनि एलर्जी बढी देखा पर्छ । यसका कारण आँखा चिलाउने, रातो देखिने, चिप्रा आउने, आँखा मैलो हुनुका साथै नानीमा समेत सेतो दाग देखा पर्नसक्छ । जसको कारण कहिलेकाहीँ नानीमा सङक्रमण भई दृष्टिसमेत गुम्न सक्बछ । यस्तो खालको आँखाको समस्या देखिएमा आँखा सफा पानीले सफा गर्ने र बाहिर हिँड्दा राम्रो खालको चस्मा लगाउने गर्नुपर्ने नेत्र विशेषज्ञको भनाइ छ । यतिमात्र होइन घरमा पनि फूल फुलेको, पालुवा पलाउँदै गरेको बिरुवा नचलाउने, नजिक नजाने, घरपालुवा जनावर कुकुरबिरालो जस्ता जनावरलाई नचलाउने गरेमा आँखामा हुने सङक्र्रमणबाट बच्न सकिन्छ । किनकि यस्ता बस्तुमा भएको पराकणले आँखामा समस्या हुने सम्भावना बढाउन सक्छ ।

 धुलो धुवाका कारण आँखा पाक्ने गर्दछ , यो हुनु भन्दा अगाडी कस्ता लक्षणहरु देखा पर्दछन् ?
धुलोसंगै ब्याक्टेरिया भाईरस किटाणुहरु समाविष्ट भएर आँखामा छिरिसकेपछि आफ्नो स्वभाव अनुसार लक्षणहरु देखा पर्दछ । चिलाउने बिझाउने रातो हुँदै जाने र ब्याक्टेरिया भयो भने चिप्रा लाग्ने, भाईरल छ भने आँखा धेरै रातो हुने दुख्ने जस्ता लक्षणहरु देखा पर्दछ । वयस्क मात्र होइन बालबालिकालाई धेरै समय कम्प्युटरमा बस्न नदिने, प्रदूषित वातावरणमा नजाने, हरियो सागपात बढी मात्रामा खाने, भिटामिन ए युक्त फलफूल पनि सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ । कम्प्युटर चलाउँदा वा टिभी हेर्दा केही समय आराम र चिसो पानीले मुख धुनु उपयुक्त हुने चिकित्सक बताउँछन् । गर्मी मौसममा हुने यस्ता समस्याबाहेक डरलाग्दो लक्षण भनेको उज्यालोमा हेर्न गाह्रो हुने हो । यस्तो समस्या भएमा तुरुन्त जाँच गराउनुपर्दछ ।

आँखा पाक्ने रोगका लक्षणहरू के के छन् ?

 पहिलो छ बिरामीलाई सुरूमा आँखामा अफ्ठेरो पनको महसुस हुन्छ । आँखामा रातोपन हुन्छ । रातोपनसँगै आँखाबाट चिप्रा आउने समस्या हुन्छ । आँखाको वरिपरीको ढकनी सुन्निन्छ । उज्यालोमा हेर्न गाह्रो हुन्छ ।

आखा चिलाउँदा रातो हुदाँ चाँहि हामीले घरयासीे उपचार के के गर्न सक्छौ ?
आँखामा समस्या आएपछि सुरुमा उपचारको लागि चिकित्सक कहाँ नै जानुपर्छ । आँखामा जथाभावी औषधि हाल्नु हुँदैन । आँखालाई असर नहुने औषधीहरू हुन्छन् त्यसको प्रयोग गर्नुपर्छ । उपचारको लागि नेत्र विशेषज्ञ कहाँ नै जानुपर्छ । त्यसपछि हामीले संक्रमण कम गर्नको लागि औषधि दिन्छौ । बिरामीले पनि आफ्नो उपचारका लागि पहल गर्नुपर्छ । आँखाको सरसफाइमा ध्यान दिनुपर्छ । आँखामा लागेको कचेराहरू सफा गर्नुपर्छ । आँखालाई हातले छुनुहुँदैन । यदि छोइयो भने साबुन पानीले हात धुनुपर्छ । जो व्यक्तिले आँखामा औषधि हाल्छ उसले पनि हात धुनुपर्छ । बिरामीले प्रयोग गर्ने रूमाल, सुत्ने सिरानी अलग्गै हुनुपर्छ । सानो बच्चा नानी छ भने उसलाई आँखा छोएको हातले चलाउनु हुँदैन । रूमालको भन्दा पनि टिस्यू पेपर र नेपकिनलगायतको प्रयोग गरेर त्यसलाई फाल्नु राम्रो हुन्छ। जसले गर्दा किटाणु आँखामा सर्ने खतरा कम हुन्छ ।

 लापरबाही गरे के हुन्छ ?
आँखाको संक्रमणमा धेरै देखिने समस्या भनेको कडा खालको औषधिले गर्दा हुन्छ । चिकित्सकलाई नजचाइकन औषधी राख्दा आँखामा फुलो पर्ने खतरा हुन्छ । कडा खालको किटाणुको संक्रमण भएमा त्यो अवस्थामा पनि फुलो पर्ने र कालन्तरमा दृष्टि नै गुम्ने खतरा हुन्छ । आँखाको नानीमा असर गर्छ र आँखामा दाग देखिने हुन्छ। जसले गर्दा दुरदृष्टिमा असर गर्छ । त्यसैले आँखा धुने, आँखालाई सफा गर्ने काम गर्नुपर्छ । गर्मीमा यो समस्या अझै बढी हुन्छ । फागुन चैतदेखि साउन भदौसम्म आँखा पाक्ने समस्या हुन्छ ।

 विशेष गरी गाउँमा बस्ने मानिस जो अशिक्षीत छन् उनीहरुलाई थाहा हुन नसक्ला आँखा रातो हुदाँ चिलाउदा के गर्ने भनेर यस कारण बढि लापरवाही हुन सक्छ यसको समाधानको लागि के गर्न सकिन्छ ?
गाउँघरको मात्र कुरा नगरौ यहा हामी नगरपालिकाको छेउमा बस्ने मानिसहरु पनि आँखामा समस्या आउदा आफ्नै पिसाबहरु आँखामा हाल्ने तथा तुरुन्त स्वास्थ्य सँस्थामा नआउने छन् ,यस कारण रोग लाग्ने वित्तीकै अस्पताल आउदा विभिन्न समस्याहरु त देखा परीने हाल्छन् संक्रमण वढ्दै गएपछि आँखाको सेतो भाग मात्रै हाईन कालो भागमा नि संक्रमण हुन थाल्छ कर्नीयामा घाउ भईसकेपछि पछाडी चै रोग पनि ढिलो निको हुने र रोग निको भईसकेपछि पनि त्यहा दागहरु देखीने र आँखाको दृष्टिमा पनि कम देखीने हुनसक्छ । त्यसैले सबै विरामीहरुलाई म के भन्न चाहान्छु भने अहिलेको २१ औ सताब्दी हो पहिलेको ढुङगे युग होईन अन्धविश्वाशमा रुमलिएर घरेलु उपचार नगरी तुरुन्त स्वास्थ्य सस्थाहरुमा गएर उपचार गर्नुहुन अनुरोध गर्दछु ।

 गर्मी मौसममा अस्पतालहरुमा बिरामीको कत्तिको चाप छ ?
गर्मी मौसममा नै बिरामीको चाप बढ्ने गर्दछ , यस अस्पतालमा दैनिक रुपमा ५० भन्दा बढि बिरामीहरु आउने गर्दछ , यसमा धेरै जसो संक्रमक भएर आउने गरेका छन् ।

 जलविन्दु मोतीविन्दु भएका बिरामीहरु कत्ति आउने गर्दछन् ?
आँखाका विभिन्न समस्यहरु लिएर आएको हुन्छ उमेरको हिसावले लाग्ने मोतीयाविन्दु झन्डै ३– ४ जना विरामीहरु दैनिक रुपमा आउने गर्दछन् । केहि व्यक्तिहरु भने जन्मजात मोतीयाविन्दुहरु लिएर आएका हुन्छन् । त्यसकारण सवै अभिभावकहरुलाई के भन्न चाहान्छु भने स्कुल जानुभन्दा अगाडी आफ्ना वच्चाहरुलाई आँखा जाँच गराउन हुन अनुरोध गर्दछु ।

आँखामा जलविन्दु भएको व्यक्तिहरुलाई कसरी उपचार गर्न सकिन्छ ?
जलविन्दु पनि विभिन्न किसीमको हुने गर्दछ , त्यसमध्ये एउटा एङ्गल क्लोजर र एङगल ओपन भन्ने हुन्छ । क्लोजरले आँखा नदेख्ने बन्द हुने भएकोले मान्छे धेरै आईरहेको हुन्छ तर एङगल ओपनमा भने त्यति थाहा हुन्न विस्तार विस्तार गरेर आँख वन्द भईरहेको हुन्छ त्यसै कारण मानिसहरुमा समस्या नभएपनि ६ –६ महिनामा आफ्नो आँखा चेक गराईरहनु पर्छ । अन्य भन्दा जलविन्दु खतरा हुन सक्छ , आँखमा पे्रसर वढ्नु नै जलविन्दु हो ।

https://www.youtube.com/watch?v=_MszwHrANDE&feature=youtu.be

२०७४ चैत १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: