१७ चैत , गजुरी
गजुरी गाउपालिकालाई शुक्रबार खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । “घर घरमा चर्पी सफा घर आँगन, पूर्ण सरसफाइ प्राप्तिका लागि गजुरी गाउपालिकाको अभियान” भन्ने नाराका साथ हरेक वस्तीमा शौचालयको सुविधा पुगेपछि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।
औपचारिक कार्यक्रमको साथमा गजुरी गाउपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । जिल्लामा खानेपानी तथा स्वास्थ्य क्षेत्रमा काम गरिरहेका संस्थाहरु प्रयास नेपाल, फोकस नेपाल र शान्ति नेपालले गाउँमा शौचालय निर्माण तथा मर्मतमा सहयोग गरेका हुन् ।
साविकको किराञ्चोक, पिडा र गजुरी गरी गजुरी गाउँपालिका बनेको हो । साविकको किराञ्चोक गाविस मा १ हजार १ सय ५४ घरधुरी मध्ये ३३ घर परिवारले आफै शौचालय बनाएका छन् । १ हजार १ सय २१ घरमा साविक को गाविस किराञ्चोक र शान्ति नेपालको सहयोगमा शौचालय निर्माण गरिएको हो । साविकको पिडा गाविस मा २ हजार २ सय १८ घरधुरी मध्ये ४ सय १ घरधनि आफै, ४ सय ७९ घरधुरीलाई प्रयास नेपाल, १ हजार ३ सय घरमा गाविस र शान्ति नेपालको सहयोगमा शौचालय निर्माण गरिएको हो ।
त्यस्तैगरी साविकको गजुरी गाविसमा फोकस नेपाल र शान्ति नेपालको सहयोगमा २ हजार ४ सय ४८ शौचालय निर्माण गरिएको छ । भुकम्पपछि अस्थायी टहरामा बसिरहेका प्रभावितहरु सबैले घर बनाएका छैनन् । अस्थायी टहरामा बसिरहेका तथा शौचालय बनाउन बाँकि रहेकाहरुले संयुक्त शौचालय प्रयोग गरिरहेका छन् ।
गजुरी गाउँपालिकालाई जिल्ला समन्वय समिति धादिङका उप प्रमुख विन्दा बरामुले खुल्ला दिशामुक्त पालिका घोषणा गरेका हुन् । प्रमुख अतिथि बरामुले घरघरमा शौचालय बन्नु भन्दा सदुपयोग गर्नु ठूलो रहेको बताए । जसरी खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्दा उत्साह थपिएको छ । त्यसैगरी सरसफाइ तथा दिगो व्यवस्थापनमा पनि ध्यान दिन सके खुल्ला दिशामुक्त पालिकाको अर्थ रहने उनले बताए । त्यस्तै, गाउँलाई अझ स्वच्छ, सफा, सुन्दर, सभ्य र समृद्ध बनाउन गाउँपालिकाले सार्वजनिक शौचालय र खानेपानीको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको उनले बताए ।
नेपाल सरकारद्धारा राष्ट्रिय सरसफाई गुरु योजना २०६८ को माध्यमद्धारा सन् २०१७ सम्म देश भरिका सबै साविकका गाविस तथा नगरपालिकाहरुलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने उद्देश्य रहेको थियो । तर १२ बैशाख २०७२ को विनाशकारी महाभुकम्पका कारण निर्धारित समयमा लक्ष्य पुरा गर्न नसकेको गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए । गाउँपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएसँगै पूर्ण सरसफाई प्राप्तिका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन, वातावरण प्रदुषण रोक्न, भूक्षय कम गर्न, सम्पुर्ण सडक किनारामा वृक्षारोपण गर्ने र बालमैत्री गाउँपालिका बनाउन विशेष पहल गर्ने उनले बताए ।
१३ पालिका रहेको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गापा, सिद्धलेक गापा, बेनिघाट रोराङ गापा र गजुरी गापा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ भने ज्वालामुखी गापा र गल्छी गापालाइ खुल्ला दिशामुक्त घोषणा गर्ने अन्तिम तयारी रहेको छ । साविकको ५० गाविसमध्ये हालमसम्म ३२ वटा गाउँविकास समितिहरु खुल्ला दिशामुक्त घोषणा गरिसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय धादिङका इन्जिनियर ओमहरी ताम्राकारले जानकारी दिए ।
२०७४ चैत १७ गते प्रकाशित