Thu. Nov 14th, 2024

नेपाल आइडल सिजन–२ मा निर्णायक पुरानै, प्रस्तोता फेरिए, विजेताले गाडी नपाउने


५ चैत, काठमाडौं –

‘नेपाल आइडल सिजन–२’ भोली (मंगलबार_ बाट सुरु हुँदै ।

भैरहवामा अडिसन सुरु गर्दै नेपाल आइडलको सिजन–२ सुरु हुन लागेको हो । भैरहवाको जेसिस किन्डर गार्डेन हाइस्कुलमा मंगलबार अडिसन लिने नेपाल आइडल युनिटले चैत ११ गते धनगढीमा अडिसन लिनेछ । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा अडिसन लिने बताएको छ । वैशाख ३ गते हेटौंडाको सिद्धार्थ सेकेन्डरी स्कुलमा अडिसन लिने नेपाल आइडल युनिट वैशाख ८ गते धरानको विष्णु मेमोरियल हाइयर सेकेन्डरी स्कुल पुगेर सहभागी प्रतिस्पर्धीको आवाज सुन्नेछ । वैशाख १४ गते पोखराका संगीतप्रेमीले श्री जनप्रिय सेकेन्डरी स्कुल पुगेर अडिसन दिन सक्नेछन् । काठमाडौं अडिसनको मिति भने तोकिएको छैन ।

अडिसन राउन्डमा चित्तबुझ्दो स्वर भएका सहभागीलाई निर्णायकले काठमाडौं बोलाउने छन् । काठमाडौंमा विभिन्न राउन्ड हुँदै नेपाल आइडल युनिटले सिजन–२ को आइडल छान्नेछ । सिजन–२ मा पनि पुरानै निर्णायक दोहोरिने नेपाल आइडलका प्रवन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले बताए । गतवर्ष न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।

कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा र सुशील नेपालमध्ये एक जनालाई परिवर्तन गरिएको छ । नायिका रिमा विश्वकर्मा यथावत् रहेपनि सुशील नेपाल भने सिजन–२ मा देखिने छैनन् । नेपाललाई आसिफ शाहले रिप्लेस गरेका छन् । आसिफ यही वर्ष प्रदर्शनमा आएको चलचित्र ‘२–रुपैयाँ’ का नायक हुन् । आसिफ म्युजिक भिडियो निर्देशकसँगै गायक र टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् ।

हजारौं प्रतिस्पर्धीबाट सिजन–१ को नेपाल आइडल साढे ४ करोड भोट पाएर पोखराका बुद्ध लामा बन्न सफल भएका थिए । उपाधिसँगै लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका थिए । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट दिने नेपाल आइडलले जनाएको थियो । यद्यपि लामाले केही दिन अगाडि आफूलाई नेपाल आइडलले गाडी नदिएको भन्दै सञ्चारमाध्यमसँग गुनासो गरेका थिए ।

गत वर्षझैं यो वर्ष पनि एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनोट गरिने नेपाल आइडलले जनाएको छ । शो एपीवान टेलिभिजनले प्रशारण गर्नेछ । कार्यक्रम झण्डै ६ महिना सञ्चालन हुनेछ । नेपाल आइडल नेपालमा सञ्चालन भएको अहिलेसम्मकै ठूलो सांगीतिक रियालिटी शो हो ।
२०७४ चैत ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: