

१८ फागुन, काठमार्डौ
भारतको छत्तिसगढको बीजापुरमा प्रहरीसँगको भिडन्तमा कम्तिमा १० माओवादी र एक प्रहरीको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचार अनुसार छत्तीसगढ र तेलङ्गना राज्यको सीमा क्षेत्रमा पर्ने एक जंगलमा सो भिडन्त भएको थियो ।
भिडन्तपछि माओवादीको साथमा रहेको ठूलो मात्रामा हतियार प्रहरीले बरामद गरेको छ। डीआईजी सुंदरराज पीले प्रहरीसँगको भिडन्तमा मारिएका दस माओवादीको शव बरामद भएको बताए। मारिनेमा नक्सलाइट विद्रोही समूहका एकजना उच्चस्तरीय कमाण्डर पनि परेका छन् । मारिने १० जनामा छ जना महिला लडाकू परेका बताइएको छ ।
डीआईजी सुंदरराजका अनुसार छत्तिसगढ र तेलंगानाको सुरक्षाकर्मीको टोलीले उसुर थाना क्षेत्रको पुजारीपारामा माओवादी विरुद्ध अपरेशन चलाएको छ । उक्त अपरेशनका क्रममा माओवादीसँग प्रहरीको भिडन्त भएको हो।
उनले मारिने माओवादीको सँख्या बढ्न सक्ने जानकारी दिए। मारिएका माओवादीको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। भारतीय प्रहरीले १० जना माओवादी मारिएको घटनालाई ठूलो सफलता मानेको छ । मारिनेमा माओवादीका ठूला नेता समेत हुनसक्ने प्रहरीको दाबी छ।
२०७४ फागुन १८ गते प्रकाशित