Wed. Mar 12th, 2025

पार्टी एकीकरण घोषणा फागुनभित्रै

एकीकरणको प्रारम्भिक आधारपत्रमा सोमबार हस्ताक्षर भएको छ, अन्तिम तयारी गर्न दुई कार्यदल गठन भएका छन् ।

राजनीतिक कार्यदल
एमाले : माधव नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, रघुजी पन्त
माओवादी : नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, फम्फा भुसाल, देवेन्द्र पौडेल

विधान र संगठनात्मक कार्यदल

एमाले : ईश्वर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, रघुवीर महासेठ

माओवादी : रामबहादुर थापा, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव

सहमतिको खुसीमा बालुवाटारमा भोज
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले माओवादीसँग एकीकरणको प्रारम्भिक आधारमा हस्ताक्षर भएको खुसियालीमा पार्टीका नेतालाई रात्रिभोज दिएका छन् । मंगलबार साँझ भोजमा सहभागी हुन एमाले शीर्ष नेताहरूसहित स्थायी समिति सदस्य बालुवाटार पुगेका थिए ।,

‘तपाईंहरूलाई कुनै औपचारिक बैठक या छलफलका लागि होइन, पार्टी एकीकरण गर्ने सहमतिको खुसियालीमा आयोजित डिनरमा बोलाएको हुँ,’ ओलीले संक्षिप्त धारणा राखेर डिनर लिन आग्रह गरेका थिए । ‘अनौपचारिक रूपमा खुसी साटासाटपछि हामी डिनर सकेर फर्कियौँ,’ स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने ।

नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा पहिल्यै दर्ता
एमाले–माओवादीले जुराएको एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न कठिनाइ हुने भएको छ । ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी यसअघि नै आयोगमा दर्ता छ ।

निर्वाचन आयोगको दलसम्बन्धी ऐनको दफा ९ मा एउटै नाममा दुई पार्टी दर्ता गर्न नमिल्ने व्यवस्था स्पष्ट छ । यस्तो अवस्थामा एकीकृत पार्टीले कि पुरानो पार्टीसँग एकता गर्नुपर्नेछ, कि नयाँ पार्टीको नाममा सामान्य भए पनि परिमार्जन गर्नुपर्नेछ । ०६९ मा ऋषिराम कट्टेलको नाममा नेकपा आयोगमा दर्ता भएको छ । यो दलले ०७० को संविधानसभा निर्वाचनमा समेत भाग लिएको थियो ।

नया पत्रिका दैनीकबाट ।
२०७४ फागुन ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: