
८ फागुन, काठमाडौं
सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो । अघिल्लो सरकारले राष्ट्रियसभामा सिफारिस गरेका ३ जनाको नाम फिर्ता लिँदै उनीहरुको ठाउँमा नयाँ ३ जनाको नाम सिफारिस गरेको छ ।
अब राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभामा सिफारिस गरेको थियो ।
उनीहरु तीनै जना कांग्रेस निकट थिए। तर त्यो सिफारिसलाई राष्ट्रपति कार्यालयले कार्यान्वयन नगरी त्यत्तिकै थन्क्याएर राखेको थियो । मंगलबारको बैठकले देउवा सरकारले गरेको सिफारिस रद्द गरेर नयाँ सिफारिस गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेकाहरु एमाले र माओवादी निकट छन् ।
५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । हरेक प्रदेशबाट ८–८ जनाका दरले राष्ट्रियसभामा ५६ जना भने निर्वाचित भइसकेका छन् ।
२०७४ फागुन ८ गते प्रकाशित