Tue. Mar 4th, 2025

वहुविवाह स्वत खारेज !


राधिका सापकोटा–

विवाहित पुरुषले वैवाहिक समन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नुलाई वहुविवाह भनिन्छ । आजभोली हरेका गाउँ समाज र परिवारमा वहुविवाहका घटनाहरु बढिरहेका छन् । अझै भन्ने हो भने २० देखि ४० वर्ष भित्रका पुरुषहरुले २,३ वटा श्रीमती विवाह गर्ने अझ कतिले त ४ वटा समेत विवाह गरेको देखिन्छ । परापुर्वकालदेखि नै पुरुष प्रधान हाम्रो समाजमा महिलाहरुलाई यौन आनन्द प्राप्त गर्ने साधनका रुपमा लिईनु र एउटा पुरुषले जतिजनालाई पनि श्रीमतीको रुपमा राख्न सक्छ भन्ने मान्यता दिनुले यसलाई बढवा गरेको देखिन्छ । “मर्दका दशवटी” असाध्यै प्रचलित उखान छ नेपालमा । यसले मर्द ऊ कहलाउँछ जसले धेरै श्रीमती बनाउन सक्छ भन्ने कुरालाई पृष्टि गरेको छ । अहिले पनि हेर्ने हो भने समाजले बहुविवाहलाई प्रश्रय दिई रहेको छ । कुनै पुरुषले घरमा श्रीमती हुँदा हुँदै अर्को विवाह गर्यो भने त्यो पुरुषलाई गलत गरीस् भन्दा पनि घरमा भएकी श्रीमतीलाई श्रीमान रिजाउन नसकेको, अथवा श्रीमानका इच्छाहरु पुरा गर्न नसकेको आरोप लगाउने गर्दछ । बहुविवाह किन हुन्छ भनेर हेर्ने हो भने यसको मुख्य कारण भनेको महिलाहरुलाई हेर्ने दृष्टिकोण नै हो ।

महिलाहरुलाई पुरुषले आफ्नो सम्पत्ति वा नियन्त्रणको वस्तुको रुपमा लिने जुन सोच छ त्यो नै यसको कारण हो । श्रीमती भनेका श्रीमानको यौनप्यास मेटाउने र उनीहरुको वंश उत्पादन गर्दिने साधनका रुपमा लिइएको छ । एउटा संग यौन प्यास मेटाउन सकिएन वा सन्तुष्टि मिलेन भने उसले अर्को श्रीमती ल्याउने छुट यो समाजबाट पाएको छ । श्रीमान र श्रीमती विचको सम्बन्ध भन्दा जीवन साथी भने पनि यहाँ मालिक र नोकरको सम्बन्ध छ । एउटा परिवारलाई हेर्ने हो भने त्यो घरको श्रीमान सम्पत्ति र सत्ताको मालिक छ , सम्पत्ति र सत्ताका कारण ऊ शक्तिसाली छ । त्यसैले त्यो परिवारको ऊ मालिक हो । एउटा श्रीमतीसंग न सम्पत्ति छ, न सत्ता नै जसले गर्दा ऊ शक्तिहिन छ । त्यसैले ऊ नोकरको रुपमा त्यो घरमा छ । पहिला पहिला श्रीमानलाई श्रीमतीहरुले संवोधन गर्दा मालिक भनेर संवोधन गर्ने गर्नु यसको वलियो प्रमाण हो । त्यत्ति मात्रै हैन हामी श्रीमानलाई पति भन्छौं पतिको अर्थ मालिक वा सबै भन्दा ठूलो भन्ने अर्थ लाग्छ त्यसैले हरेक शव्द, संवोधन र व्यवहारले श्रीमानहरुलाई मालिकको रुपमा स्थापित गरिदिएको छ । त्यसैले मालिकहरुले चाहाँदा जे पनि हुने खालको स्थिती छ ।

नेपालको हालको कानुनले बहुविवाहलाई अपराधको रुपमा मानेको छ र वहुविवाह विरुद्ध उजुरी गर्ने र सजायँ गराउने व्यवस्था पनि छ तर संगै जतिवटा विवाह गरेपनि दर्ता गर्न मिल्ने प्रावधानले कानुनले एकातिर अपराध भन्ने र अर्को तिर त्यसको संरक्षण गरेको देखिन्छ । वहुविवाह विरुद्ध उजुरी गर्ने व्यवस्था भएपनि अधिकांश महिलाहरु आफ्नो श्रीमानको विरुद्ध उजुरी गर्ने हिम्मत नै गर्दैनन् । अघि नै भने जस्तै मालिकको आश्रयमा आफू र आफ्ना लालाबाला पालिरहेका महिलाहरु त्यसबाट निकालिने डरले गर्दा बरु अन्याय सहन मन्जुर गर्छन् तर उजुरी गर्दैनन् । अर्को ल्याएपनि मलाई खान लाउन दिने र कुटपीट नगर्ने भए उजुरी गर्दिन भन्ने महिलाहरुको संख्या अत्याधिक छ । वाँच्नका लागि आफ्ना अधिकार माथि संझौता गरिरहेका छन् महिलाहरुले । बहुविवाहको कानुन त्यत्ति वलियो नहुनु, महिलाहरुको पहुँच न्याय सम्म नहुनु र श्रीमान विरुद्ध मुद्दा गरे क्रिया गरे सरह हुन्छ भन्ने जस्ता सामाजिक मान्यताहरु हुनुले महिलाहरुलाई बहुविवाह विरुद्ध उजुरी गर्न विरुत्साहित गरिरहको छ ।

मुलुकी ऐनलाई विस्थापन गर्दै २०७५ भदौं १ गते देखि लागु हुने गरी बनेको मुलुकी अपराध संहिता ऐनले भने बहुविवाह विरुद्ध कठोर व्यवस्था गरेको छ । यो कानुन लागु भएपछि हुने वहुविवाह स्वत खारेज हुने व्यवस्था यसमा गरिएको छ । मुलुकी अपराध संहिता ऐनको परिच्छेद ११ विवाह सम्बन्धि कसुर को १७५ मा बहुविवाह गर्न नहुने व्यवस्था गरेको छ । यसमा भनिएको छ, विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन । कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन । यदि श्रीमान श्रीमती कानून बमोजिम अंशवण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ । बहुविवाह गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ । सबै भन्दा मुख्या कुरा बहुविवाह स्वतः बदर हुनेछ भन्ने कुरा यसमा उल्लेख गरिएको छ । यसले अब भदौ १ गतेदेखी हुने बहुविवाह स्थानीय निकायले दर्ता गर्न पाउने छैन । अब त्यसरी बैवाहिक सम्बन्ध कायमा हुँदा हुँदै अर्को विवाह गरेको र त्यसरी जन्मिएका वच्चाहरुको समेत अवस्था अब गैह्र कानुनी हुने देखिन्छ ।

नेपाली समाजमा विवाहलाई बन्धनको रुपमा लिने गरिन्छ । विवाह अरु मुलुकमा भन्दा हाम्रोमा कठोर बन्धनको रुपमा रहेको छ । विवाह गरेपछि कुनै पनि हालतमा छुटिनुहुदैन भन्ने मान्यता राखिन्छ । सम्बन्ध विच्छेद गर्नुलाई समाजिक रुपमा त्यत्ति राम्रो मानिदैन । अझै सम्बन्ध विच्देछ गरेका महिलाहरुका लागि यो समाज बहुत कष्टकर बनिदिन्छ । विवाह एउटा संझौत हो । हामीले जीवनमा थुप्रै थुप्रै संझौता गरेका हुन्छौं, ती मध्ये कति संझौताहरु सफल हुन्छन् भने कति असफल पनि हुन्छन् । त्यसैले यदि विवाहका लागि गरिएको संझौता असफल भयो भने त्यो संझौता तोड्ने व्यवस्था पनि कानुनले गरेको छ । सम्बन्ध विच्देदको प्रावधानले यदि वैवाहिक सम्बन्ध राम्रो हुन सकेन भने त्यसबाट छुट्कार पाउने प्रावधान छ ।

अहिले मर्दको नाममा , परिवारका मालिकका नाममा, वा समाजमा पुरुष हुनुको छुटको उपयोग गर्दै श्रीमानहरुले बहुविवाहलाई आफ्नो पराक्रमका रुपमा लिए तर अब यो पराक्रम पराजय हुने अवस्थाको सृजना भएको छ । भदौ देखि सम्बन्ध विच्छेद नगरिी वा अंशवण्डा गरेर नछुट्टीदा सम्म एउटा वैवाहिक सम्बन्ध हुँदा हुँदै अर्को विवाह गरे त्यो स्वत वदर हुने छ । यसमा पुरुषहरुसंगै महिलाहरु पनि छन् जो घरमा उसको श्रीमती छ भन्ने जान्दा जान्दै वा थाहा हुँदा हुदै उसको दोस्रो श्रीमतीको रुपमा विवाह गरिरहेका छन् उनीहरुपनि उत्तिकै दोषी छन् । कानुनले यस्ता महिलाहरुलाई पनि सजायँको भागिदार बनाएको छ । अब सजायँ संगै उनीहरुको विवाह वदर हुने प्रावधानले बहुविवाह रोक्नका लागि ठूलो मद्दत्त गर्दछ । आशा गरौं अब बहुविवाह भन्ने शब्द नै केही समय पछि हराएर जानेछ । हाम्रा सन्ततीले बहुविवाह हुन्थ्यो रे भनेर इतिहासमा पढ्नु पर्ने स्थितीको सृजना हुनेछ ।

२०७४ फागुन ७ गते प्रकाशित

About The Author