६ फागुन, धादिङ
शहरी क्षेत्रमा बस्नेहरुलाई दमको संभावना बढी छ । शहरमा धुलो धूँवा बढी मात्रामा हुने गर्दछ । यस्तोमा स्वासप्रश्वासको समस्या हुने जोखिम हुन्छ नै । त्यसो त अहिले दमको रोगले धेरैलाई सताइरहेको छ । बुढाबुढीलाई मात्र होइन, बच्चाहरुलाई समेत यसले सताइरहेको छ ।
दम एक प्रकारको श्वसन तन्त्रको समस्या हो । दम भएमा सास लिन गाह्रो हुन्छ । यस रोगीको श्वासन मार्ग सुन्निने हुनसक्छ । त्यही कारण श्वास नली साँघुरो हुन्छ । यसले गर्दा छातीमा पीडा हुन्छ । सास फुल्न लाग्छ । पटक–पटक घाटी खसखसाउँछ । दम रोगको उमेरको कुनै सीमा हुँदैन ।
दम विभिन्न कारणले हुनसक्छ । श्वास सम्बन्धी एलर्जी हुनुमा अहिले सबैभन्दा ठूलो कारण हो, वायु प्रदूषण । धुमपान, धूलो, घर पालुवा जनवार, वायु प्रदूषण, महिलामा हुने हर्मोनल परिवर्तन, तनाव आदि कारणले दम हुनसक्छ । दम मौसमको प्रभावको कारण पनि हुन्छ । दमबाट छुटकारा पाउनका लागि प्रदूषणमुक्त क्षेत्रमा बस्नु सर्वोत्तम हो । धुमपान त गर्नै हुँदैन । धुवाँ धुलोमा बस्न भएन । घरपालुवा जनावरको सम्पर्कमा रहँदा पनि दमको समस्या बढ्ने भएकाले यसतर्फ सर्तक हुनुपर्छ । त्यस बाहेक केहि खानेकुरा छन् जसले दमको समस्यामा राहत दिन्छ । केहि घरेलु उपचार विधीबाट दम नियन्त्रण गर्न सकिन्छ । ती यसप्रकार छन् ।
स्याउ, ज्वानो र सुन्तला मिश्रति जुस
स्याउ, ज्वानो र सुन्तलाको मिश्रति जुस दम रोगीका लागि एकदमै फाइदाजनक हुन्छ । यस जुसको सेवनले दमको रोगमा राहत दिन्छ । किनभने स्याउमा फ्लेवोनायड पाइन्छ, जो दमबाट बचाउन सघाउँछ । फोक्सोलाई बलियो बनाउँछ । ज्वानोले घाटी खसखसाउने समस्याबाट छुटकारा दिलाउँछ । सुन्तलामा आइरन ग्रहण गर्ने गुण हुन्छ । साथै यसले चिसोबाट पनि बचाउँछ ।
कसरी बनाउने ?
पाँच वटा स्याउ, दुई ठूलो चम्चा ज्वानो, दुई दाना सुन्ताला, सबैभन्दा पहिला स्याउ र ज्वानो धुने । सुन्तलाको बोक्रा उप्काउने । स्याउलाई टुक्रा बनाउने । अब स्याउ, सुन्तला र ज्वानो मिसाएर त्यसको जुस बनाउने । यो पेयले दमको समस्यामा निकै प्रभावकारी काम गर्छ ।
स्याउ, कांक्रा र अदुवाको मिश्रति जुस
स्याउ, कांक्रा र अदुवाको मिश्रति जुसले दमको रोगबाट छुटकारा दिलाउँछ । स्याउमा फ्लेवोनाइड पाइन्छ, जो दमको समस्यामा उपयोगी हुन्छ । अदुवाले चिसो तथा फ्लुबाट बचाउँछ । कांक्रामा सुन्निएको कम गर्ने गुण हुन्छ । कागती प्राकृतिक एन्टिबायोटिक हो, जसले श्वासमार्गको फोहोर हटाउन काम गर्छ । स्याउ, कांक्रा र अदुवाको मिश्रति जुस सम्पूर्ण स्वस्थ्यका लागि उपयोगी हुन्छ ।
कसरी बनाउने ?
तीन वटा स्याउ, एक कांक्रा, एक टुक्रा अदुवा, एक वटा कागती, स्याउ, कांक्रा र अदुवालाई टुक्रा(टुक्रा बनाउने र त्यसको जुस बनाउने । जुसमा कागतीको रस हाल्ने । यो जुस दम रोगबाट छुटकारा दिलाउन प्रभावकारी हुन्छ ।
२०७४ फागुन ६ गते प्रकाशित