५ चैत, काठमाडौँ – नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवी नेपाल नियुक्त भएका छन् ।
विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले डा. नेपाललाई गर्भनर बनाउने निर्णय गरेको हो ।
गभर्नर छान्नका लागि मनित्रपरिषद्ले गत फागुन १२ गते अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । सो सिफारिस समितिले डा. चिरञ्जीबी नेपाल र राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय गोपाल काफ्ले र महाप्रसाद अधिकारीको नाम गभर्नरका लागि सिफारिस गरेको थियो । सरकारले सिफारिस समितिले सिफारिस गरेमध्येबाटै नेपाललाई गभर्नरमा नियुक्ति गरेको हो ।
गभर्नरका रुपमा डा. नेपालको कार्यकाल पाँच वर्ष रहने छ । दर्जनौं आकाक्षीहरु र दुईजना प्रतिस्पर्धीलाई उछिन्दै डा.नेपालले मुलुकको केन्द्रीय बैंकको गभर्नर बन्ने अवसर पाएका छन् । अब छापिने नोटमा उनैको हस्ताक्षर चल्छ ।
गभर्नरमा नियुुक्ति पाएका डा. नेपाल यसअघि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रुपमा कार्यरत थिए । गभर्नर बन्ने संकेत पाएपछि करिब दुई हप्ताअघि उनले सल्लाहकार पदबाट राजीनामा दिएका थिए ।