Tue. Mar 11th, 2025

राष्ट्रियसभा सदस्य चुनाव आज


२४ माघ,  धादिङ

राष्ट्रियसभा सदस्य चयनका लागि आज (बुधबार) मतदान हुँदै छ । प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले चुनावका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए । प्रमुख आयुक्त यादवले भने, ‘विगतका निर्वाचनझैं राष्ट्रियसभा निर्वाचन पनि शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न हुनेमा आयोग विश्वस्त छ ।’ चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ ।

चुनाव सुरक्षाका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीसहितको तीन घेरे सुरक्षा प्रबन्ध गरिएको गृह मन्त्रालयले जनाएको छ । प्रदेश १, ३, ४, ५, ६ र ७ गरी ६ वटा प्रदेशमा मतदान हुनेछन् । प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान केन्द्र कायम गरिएको छ । ६ वटा प्रदेशका १२ वटा मतदान केन्द्रमा मतदान हुनेछ ।

राष्ट्रियसभा चुनावमा ३२ सिटमा नौ दलका ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेश २ मा आठै पदसहित २४ सिटमा निर्विरोध भइसकेको छ । निर्विरोध भएकालाई बुधबार नै प्रमाणपत्र प्रदान गरिनेछ ।

एकल संक्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले राष्ट्रियसभामा कुल ५६ जना निर्वाचित हुने व्यवस्था संविधानमै छ । प्रत्येक प्रदेशबाट महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुनेछन् ।

महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् ।

प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध भएकाले दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी २ सदस्यका लागि मतदान हुँदै छ ।

प्रदेश ३ मा ८ वटै पदमा मतदान हुनेछ । प्रदेश ४ मा अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ सदस्यमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले बाँकी सदस्य चयनका लागि निर्वाचन हुँदै छ ।

यसैगरी, प्रदेश ५ मा महिला ३ सदस्यमा उम्मेदवार निर्विरोध भइसकेकाले अन्य ३, दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी ५ सदस्यका लागि निर्वाचन हुँदै छ ।

त्यस्तै, प्रदेश ६ मा सबै पदमा निर्वाचन हुँदै छ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ सदस्य निर्विरोध भएकाले दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी २ सदस्यमा निर्वाचन हुँदै छ ।

२०७४ माघ २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: