Fri. Mar 7th, 2025

सीतापाइला-धार्के सडक तीन वर्षभित्र सञ्चालन हुने


२२ माघ,  काठमाडौं

सरकारले आगामी तीन वर्षभित्रै सीतापाइला(धार्के सडकखण्डलाई कलंकी(नौविसेको विकल्पका रूपमा प्रयोग गर्ने गरी निर्माण अगाडि बढाइएको छ। सवारी आवागमन बढ्दै जाँदा यो बाटोमा ट्राफिक जाम बढेको, नौविसेबाट काठामाडौं आउँदा उकालोपर्ने र लोड गरिएका सवारीले सडक छिटो बिग्रिएर हैरान हुनुपरेको भन्दै सरकारले यसको विकल्पमा सीतापाइलाबाट रामकोट(भीमढुंगा(महेशफाँट हँदै धार्केसम्म जोड्न लागेको हो।

धार्केबाट काठमाडौं तथा धादिङको सिमानामा पर्ने ठूलोखोलासम्मको करिब १५ किमि सडक चितवन डिभिजनले र त्यसपछि सीतापाइलाबाट ठूलोखोलासम्मको १० किमि सडक काठमाडौं डिभिजनबाट काम भइरहेको छ। यो सडक हाल विस्तार गर्ने कामको ठेक्का लागिसकेको छ भने एक सातामै ग्राभेलको अर्को ठेक्का लाग्ने धादिङ खण्ड हेरिरहेका चितवन डिभिजन प्रमुख धर्मेन्द्र झाले बताए। उनले भने,‘काठमाडौंबाट नौविसे हुँदै धार्केसम्म जाने सडकखण्डको उपयुक्त विकल्प सीतापाइलाबाट धादिङको महेशफाँट हुँदै धार्के जोड्ने सडक भएकाले सोहीअनुसार प्राथमिकतामा राखेर सडक विस्तार कार्य सुरु गरेको हौं।’

सडक विस्तारका लागि काठमाडौं खण्ड र धादिङ गरी दुई भागमा विभाजन गरी काम भइरहेकोे छ। धादिङ खण्डका लागि ठूलोखोलाबाट महेशफाँटसम्म बाटो फराकिलो पार्ने काम सकिएको छ, अब यो फाँटदेखि धार्केसम्मको बाटो चौडा गर्ने काम अगाडि बढेको जानकारी झाले दिए।

१० मिटर चौडाइसहित दुई लेनमा सवारी दौडाउन सकिने गरी बनिरहेको यो बाटोमा दायाँबायाँ १र१ मिटरको ढल निकास गरी जम्मा १२ मिटरमा काम भइरहेको छ। तीन वर्षभित्र काम गर्ने गरी चितवन डिभिजनले शंकर माली एन्ड कोसी न्यौपाने जेभीलाई १४ करोड ४५ लाख रुपैयाँमा बाटो विस्तारका लागि कटिङ, स्ट्रक्चर तथा फिलिङको जिम्मेवारी दिएको छ। यो कामसँगै बाटोमा नाली, कल्भर्ट, उकालो तथा अप्ठारो बाटोमा ग्राभेल गर्ने गरी साढे १० करोड रुपैयाँसम्म रकमको ठेक्का लगाउने प्रक्रिया पनि अन्तिम चरणमा रहेको झाले जानकारी दिए। यो सडक तीन वर्षभित्रै कालोपत्रे गर्ने गरी सरकारले वैकल्पिक सडकका रूपमा काम अगाडि बढाएको छ। हाल ट्र्याक खुलिसकेको यो सडक विस्तार गरेर आवश्यक काम अगाडि बढाइएको छ। सीतापाइलको वाफलबाट सुरु हुने यो सडक धार्के जोडिदाँ २५ किलोमिटको हुनेछ।

यस अघि सीतापाइलाबाट धार्के जोड्ने यो सडक बनाउन कुवेत सरकारले चासो देखाएर विस्तृत सम्भाव्यता अध्ययनको प्रतिवेदनसमेत सरकारलाई दिइसकेको सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए। उनका अनुसार कुवेत सरकारले सीतापाइलादेखि धार्केसम्मको २५ किलोमिटरको सडक बनाउन चाहेको भए पनि यससँगको सरकारी प्रक्रिया अगाडि बढ्न ढिलो भएकोले डीपीआर मात्रै सरकारले स्वीकृत गरेको हो। यही प्रतिवेदनअनुसार यो सडक नेपाल सरकार आफैले बनाउन थालेको हो। यो सडक बनाउन सरकारले चालू आवकै करिब ४० करोड रुपैयाँ खर्चन थार्खने भएको छ।

सीतापाइलको वाफलबाट सुरु हुने यो सडक धार्के जोडिदाँ २५ किलोमिटको हुनेछ। यो सडक निर्माणको कुल लागत दुई अर्ब ५० करोड रुपैयाँ लाग्ने गरी कुवेती सरकारले प्रतिवेदन दिएको श्रेष्ठको भनाइ छ। उनका अनुसार प्रतिकिलो मिटर १० लाख रुपैयाँ अनुमान गरिएको यो सडकसँगै हालको कलंकीदेखि नौविसे हुँदै धार्के जाने सडकको विकल्पका रूपमा प्रयोग गर्न सहजै सकिने भएकाले पनि सरकारले प्राथमिकताप्राप्त राष्ट्रिय राजमार्गका रूपमा निर्माण अगाडि बढाएको हो।

काठमाडौंको कलंकीबाट नौविसे हुँदै जाने र काठमाडौं फर्कंदा धार्केबाट महेशफाँट हुँदै सीतापाइला आउने मार्गका रूपमा प्रयोग गर्ने उद्देश्य सडक विभागको छ। दुई लेनको यो सडक निर्माण गर्न कुवेत सरकारले भने करिब १५ करोड रुपैयाँ खर्च गरेर डीपीआर बनाएको थियो। कुबेत सरकारले अनुदानमा बनाइदिएको यो प्रतिवेदन नेपाल सरकारलाई बुझाएकाले सोही प्रतिवेदनका आधारमा सडक निर्माण थालिएको पनि विभागको भनाइ छ।

काठमाडौंतर्फको १० किलोमिटर सडक चौडा बनाएर दुई लेनको बनाउने कामका लागि पनि ठेक्का लागेर काम सुरु भइसकेको डिभिजन सडक कार्यालय काठमाडौं २ ले जानकारी दिएको छ। यो डिभिजनले चालू आवका लागि सीतापाइलाबाट रामकोट हुँदै भीमढुंगासम्मको सडक चौडा गर्ने, पर्खाल तथा नाली बनाउनेसहितका काम अगाडि बढिसकेको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट

२०७४ माघ २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: