Wed. Nov 27th, 2024

खेल्दै रमाउँदै बालक्लबमा बालबालिका


सरिता श्रेष्ठ / २१ माघ, धादिङ –

कक्षा ९ मा पढ्दै गरेकी गोरक्ष हमाल धुनीबेसी नगरस्तरको बालक्लबको अध्यक्ष हुन् । सानैदेखि बालक्लबमा बसेर आफ्ना प्रतिभा देखाउँदै आएका उनी बालक्लबमा बस्न पाउँदा खुसी छन् । पढाईलाई निरन्तरता दिदै आएका उनको रोजाईमा बालक्लब बनेको छ । पढेर बचेको समय बालक्लबमा लगानी गर्ने गरेको गोरक्ष बताउँछन् । ‘पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुनुपर्छ’ गोरक्ष भन्छन्, ‘बालक्लब हामी जस्ता बालबालिकाको रोजाई बनेको छ ।’ महाकाली विद्यालयमा रहेको बालक्लबबाट बालक्लबमा आबद्ध उनी वडा अध्यक्ष हुँदै नगरको अध्यक्ष बन्न पुगेका हुन् । बिदाको दिन र शनिबारको दिन समूदायमा सरसफाई गर्ने तथा अन्य रचनात्मक कार्यक्रम गर्नका लागि उनी योजना बनाउँछन् । उनीहरुको योजनामा अभिभावक र विद्यालयले पनि सहयोग गर्ने गरेको छ ।

बाल क्लबमा आबद्ध भएपछि गोरक्ष हमालको सक्रियता मात्रै होइन अध्ययनसँगै आनीबानीमा पनि सुधार आएको छ । पहिले कसैको अगाडि बोल्न डर मान्ने गोरक्ष अहिले सबैको अगाडि नडराई आफ्ना कुरा राख्छन् । विद्यालयले संचालन गर्ने हरेक क्रियाकलापमा सहभागीता बढेको उनले बताए । पहिले सरमिसको अगाडि जान पनि डर लाग्थ्यो गोरक्षले भने, ‘अहिले नजानेको कुरा क्लबभित्रै छलफल गर्छाैं, क्लबका साथीहरुबाट समाधान नभए शिक्षक, अभिभावकलाई सोध्छौँँ, त्यहाँबाट पनि समाधान नभए त्यसका विज्ञसम्म पनि पुग्ने गछौँ ।’ बालक्लबमा बसेपछि गोरक्ष मात्र होइन उनका साथीहरुको पनि आनीबानी बदलिएको छ ।

भूवनेश्वरी बालक्लबका अध्यक्ष जोत्सना रेग्मी पनि बालक्लबमा बस्न पाउँदा उत्साहित छिन् । नियमित विद्यालय जानु, साथीहरुसँग भेट्नु, अतिरिक्त क्रियाकलापमा भाग लिनु उनको दैनिकि हो । उनले विद्यालय तथा बाहिरी क्षेत्रमा हुने हरेक प्रतियोगीतामा भाग लिने गरेकी छन् । बालक्लबले बालबालिकालाई धेरै परिवर्तन गरेको जोत्सना बताउँछन् । ‘बालक्लबमा लागेपछि सामाजिक काममा पनि सक्रियता बढेको छ’ जोत्सनाले भनिन्, ‘ममा आएको सुधार बालक्लबकै कारण हो ।’ पहिलो प्राथमिकता पढाइलाई दिएको र त्यसपछि मात्रै अरू अभियानमा लाग्ने गरेको जोत्सना बताउँछिन् । बालक्लबका लागि स्रोत पनि बालबालिकाहरुले नै जुटाउने गरेका छन् ।

मछिन्द्र बाल क्बलका अध्यक्ष सोनिका पाठक पनि बालक्लबमा बसेर आफ्नो डराउने बानी हटेको बताउँछिन् । बालबालिका देशका कर्णधार र भविष्य भएकाले हरेक क्रियाकलापमा साथ दिनुपर्ने उनी बताउँछिन् । बालक्लब संचालन तथा रेखदेखका लागि नगरपालिकाले पनि प्राथमिकता दिनुपर्ने सोनिका बताउँछिन् । बालबालिकाका लागि भनेर सरकारले बजेट छुट्टाउने गर्छ तर तर त्यो कहिले पनि बालबालिकाले थाहा नपाउने गरेको उनको भनाई छ । बालबालिकाका लागि भनेर बजेट आउँछन् तर त्यो के मा खर्च हुन्छ हामीलाई थाहा हुन्न सोनिसाले भनिन्, ‘गरिब बालबालिकाको लागि शिक्षा र विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराई स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिकाले विशेष व्यवस्था गर्नुपर्छ ।’ कतिपय विद्यालयमा विद्यालय भवन नै छैनन् । शौचालय, खानेपानीको सुविधा नहुदाँ धेरै समस्या भोग्नु परेको छ ।

हरेक बालबालिका पढाईसँगै अन्य अतिरिक्त क्रियाकलापमा पनि रुचि राख्छन् । खेल्ने, घुम्ने तथा साथीहरुसँग रमाइलो गर्ने गर्छन् । स्रोत र साधनको अभावका कारण बालक्लबलाई व्यवस्थित तरिकाले संचालन गर्न नसकेको शिक्षक धुव्रप्रसाद चापागाईँले बताए । ‘बालबालिकाहरु सक्रिय भएर बालक्लब संचालन गर्छन्, कार्यक्रम गर्छन् तर स्रोत जुटाउन गाह्रो छ’ धुव्रप्रसादले भने, ‘सिमित स्रोत साधन जुटाएरै भए पनि बेलाबेलामा सचेतनात्मक कार्यक्रमको आयोजना गरिरहेका हुन्छन् ।’ बालक्लब संचालन गर्न विद्यालयबाट पनि सहयोग गर्ने गरेको उनको भनाई छ । युनिसेफको सहयोगमा सिर्जनशील समाज नेपालले धादिङको धुनीबेसी नगरपालिकामा बालक्लब गठन, पुर्नगठन तथा सहजीकरणको कार्य पश्चात बालबालिकाहरु बालक्लबमा आबद्ध हुन थालेको हुन् । नगरपालिकाको प्रत्येक विद्यालयमा बालक्लब संचालनमा छन् भने वडामा पनि बालक्लब गठन गरिएको छ ।

यस नगरपालिका भित्रमा अधिकांश बालबालिकाहरु इट्टाभट्टामा काम गर्छन् । उनीहरुले न त पढ्न नै पाएका छन् न स्वास्थ्यमा नै ध्यान दिएका छन् । त्यस्ता बालबालिकाहरुलाई श्रममुक्त गराउन बालबालिकाले नगरपालिकालाई आग्रह समेत गरेका छन् । बालबालिकाहरूले बालमैत्री धारा, बालमैत्री बिद्यालय, सरसफाईका विषयमा बालक्लबमा छलफल गर्ने गरेका छन् । उनीहरुको प्राथमिकतामा सबै बालबालिकाहरु विद्यालयमा हुनुपर्ने, विद्यालयमा सफा शौचालय, बालमैत्री खेलकुद मैदान हुनुपर्ने, सडकमा जेब्रा क्रसिङ हुनुपर्ने रहेको छ । बालबचाउ, बालसंरक्षण, बालविकास र बालक्लब निर्माणका लागि प्रत्येक स्थानीय तहले बजेट छुट्टाउने गरेको छ । बालबालिकाको नाममा बजेट त छुट्टिन्छन् तर कार्यन्वयनमा समस्या छ ।

धुनीबेसी नगरपालिकाका उपमेयर निरु खरेल बालबालिकालाई कुनै पनि अवसरबाट वञ्चित गराउन नहुने बताउँछिन् । बालबालिकाको संरक्षणका निमित्त सबै पक्षहरुमा विशेष ध्यान दिनुपर्ने उनको तर्क छ । सबैबाट बालअधिकारको सम्मान हुनुपर्दछ । तर हाम्रो समाजमा धेरै बालबालिका आधारभूत अधिकारबाट बञ्चित भईरहेका छन् उपमेयर निरुले भनिन्, ‘घरपरिवार, विद्यालय, छर छिमेक, समाज सबै ठाँउमा बालबालिकाले संरक्षण पाउनुपर्छ ।’ बालबालिका दुव्र्यवहार, शोषणमा पर्ने गरेका घटनाहरु सञ्चारमाध्यम लगायत थुप्रै स्थानहरुमा आईरहेका छन् । यस्ता घटनाहरुबाट बच्नका लागि बालबालिका तथा किशोरकिशोरीहरु स्वयम् आफ्ना अधिकारका बारेमा सचेत हुनुपर्ने उनको भनाई छ ।

बालबालिका विरुद्धमा हुने शारीरिक दुव्र्यवहार, यौन दुव्र्यवहार, भावनात्मक दुव्र्यवहार, हेपाई लगायतका कुराका बारेमा जानकार हुदै त्यसबाट आफू कसरी बच्ने र साथीसंगीलाई पनि कसरी बचाउने भन्नेबारेमा सबै सचेत हुन आवश्यक छ । बालबालिकालाई यस्ता दुव्र्यवहारहरुबाट बचाउन मुख्य भूमिका बालक्लबको नै हुन्छ भने यसको दायित्व हामीले लिनुपर्छ । त्यसैले अभिभावक, घर परिवार, विद्यालय, समाज र सबै सरोकारवालाहरुले सबै ठाँउ, सबै परिस्थितिमा बालबालिकाको संरक्षणको निम्ति सजग भईरहनु पर्दछ ।

२०७४ माघ २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: