सरिता श्रेष्ठ / १७ माघ, धादिङ –
धादिङको धुनीबेसी नगरपालिका वडा नं ९ सिम्लेफाँटका दिपेश लामाले च्याउखेतीबाट मासिक ३० हजार कमाउँछन् । गाउँमा काम नपाएपछि भौतारिका लामाले ५ रोपनी जग्गा भाडामा लिएर च्याउ खेती सुरु गरेका थिए । विदेश जाने तरखरमा रहेका लामाले साथीको सल्लाहमा च्याउ खेती गरेका हुन् । अहिले उनी गाउँमा नै उदारणीय बनेका छन् । अहिले आफू मात्र होइन उनले छ जनालाई रोजगारी दिएका छन् । ‘च्याउखेतीबाट ५० देखि ६० हजारसम्म आम्दानी हुने गरेको छ’ दिपेशले भने, ‘विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा दोब्बर आम्दानी हुने रहेछ ।’ उनको २६ वटा च्याउ घर छन् । एक घरमा २५० बल राख्ने गरेका छन् ।
साढे दुई वर्ष अगाडिबाट च्याउ खेती सुरु गरेका लामाले उत्पादन भएको च्याउ काठमाडौँको कालीमाटी, पोखरा, त्रिशुली लगायतका ठाउँमा निर्यात हुने गर्दछ । प्रति किलो १५० देखि २०० रुपैया किलोसम्म बिक्री हुने गरेको छ । घरबाटै पनि बिक्रि हुने गरेको र माग अनुसारको उत्पादन गर्न नसकेको बताए । ‘दैनिक २५ केजी च्याउको माग छ दिपेशले भने, ‘यहाँका मानिसहरुले अहिले मासु भन्दा च्याउ बढी खोज्ने गरेका छन् ।’ सानो लगानीबाट व्यवसाय सुरु गरेकाले धेरै उत्पादन गर्न नसकेको दिपेश बताउँछन् । अब विस्तारै उत्पादन बढाउदै लैजााने योजनामा रहेको उनले सुनाए ।
च्याउ बेचेर आएको आम्दानीले घर खर्च राम्ररी टरेको दिपेश बताउँछन् । च्याउखेती गर्न उनका श्रीमती समिताले पनि उनलाई सघाउँछन् । घाँस काट्न बारीमा गएका बेला लडेर समिताको खुट्टा भाँचिएको छ । उकालो ओरालो हिड्न सक्दैनन तर पनि च्याउको हेरचाह्रमा लागिरहेकी छन् । दाहिने खुट्टा राम्रोसँग टेक्न सक्दैनन् । तर च्याउको हेरचाह्र गर्ने, च्याउ घरको सरसफाई गर्ने काममा समिताले सघाउँछिन् । कृषि विकास कार्यालयले पनि हरेक वर्ष किसानलाई च्याउ खेती गर्नका लागि अनुदानका व्यवस्था दिने गरेको छ । तर लामा दम्पतिलाई अनुदानको बारेमा केही जानकारी नभएको बताए । सामान्य तालिम लिएर सुरु गरेको समिताले किसानलाई हेर्ने दृष्टिकोण बदलिनु पर्ने बताइन् । ‘हामी गाउँका स्थानियलाई समय समयमा तालिम र प्रोत्साहन नै छैन ।’ समिताले भनिन्, ‘अवसर पाएदेखि त गाउँमै राम्रै कमाइ गर्न सकिने रहेछ ।
खनियावास गाउँपालिकास्थित सत्यदेवीका बुद्धिबहादुर तामाङले पनि च्याउखेतीबाट मासिक १० हजार कमाउँछन् । उनले १५ हजार लगानी गरी च्याउ खेती सुरु गरेका हुन् । आम्दानीको अन्य श्रोत नभएको र कृषिमै भर पर्नु पर्ने भएकाले छोरा छोरीको पढाईलाई समेत राम्रोसंग अगाडि बढाउन नसकेको बताए । अहिले २ छोरा रोजगारीको शिलशिलामा विदेशमा छन् । अन्य ३ छोरा छोरी गाउँमा नै पढ्दै छन् । ठुली छोरी १० कक्षा, सानी छोरी ३ कक्षा र सानो छोरा १ कक्षामा पढ्दै गरेका छन् । बुद्धिबहादुरको आफ्नै नाममा एक रोपनी जग्गा समेत छैन ।
महिनामा ४ पटकसम्म टिप्न मिल्ने च्याउ बिक्रीका लागि एकपटक टिपेपछि अर्को पटकका लागि तयार हुन ७ देखि ९ दिनसम्म लाग्ने गरेको उनले बनाए । थोरै परिमाणमा उत्पादन भएकाले अहिलेलाई भने बजारको समस्या नभएको उनले बताए । च्याउखेती गर्नका लागि सबै सामग्री आफैंले तयार पार्ने गरेका छन् । अहिले प्रति केजि २ सय ५० का दरले च्याउ बिक्रि गर्दै आएको र महिनामा १० हजारसम्म आम्दानी गर्न सफल भएको उनको भनाई छ ।
घर खर्च चलाउन ज्यादै समस्या भएपछि छोरालाई बिचैमा पढाई छोडाई बिदेश पठाएका छन् । अरु छोराछोरीको पनि आर्थिक अवस्था कमजोर भएका कारण बीचमा नै पढाई छोड्न बाध्य छन् । बुद्धिबहादुरले भने, ‘८ जनाको परिवार सासु आमाको नाममा रहेको ५ रोपनी जग्गाबाट हुने उत्पादनले खान समेत धौ–धौ भयो । त्यसपछि छोराहरुलाइ विदेश पठाए, उनीहरुको कमाइले उनीहरुलाइ नै विदेश पठाउला लागेको ऋण नै तिर्न ठिक्क छ, त्यसैले घरखर्च चलाउन अहिले आँफै च्याउ खेती गर्न थालेको हुँ ।’
बालबच्चाको पठनपाठन र सामान्य घरखर्च चलाउन समेत धौ धौ हुन थालेपछि बुद्धिबहादुरले अहिले गाउँमै च्याउ खेती सुरु गरेका हुन । च्याउखेतीमा उनको लगनशिलता देखेर जिल्ला कृषि विकास कार्यलयले पनि उनलाई ३ दिने च्याउ खेती गर्ने तरिका र प्राविधिक सहयोगहरुको विषयमा तालिम दिएपछि उनले च्याउको खेती गर्न सुरु गरेका हुन् । च्याउ बेचेर आएको आम्दानीले घर खर्च राम्ररी टरेको उनी बताउँछन् । आम्दानी राम्रै भएपछि ब्यवसाय गर्न ढिलो गरेकोमा पछुतो मान्छन् । ‘हामी गाउँका स्थानियलाई समय समयमा तालिम र प्रोत्साहन नै छैन ।’ बुद्धिबहादुरले भने, ‘अवसर पाएदेखि त गाउामै राम्रै कमाइ गर्न सकिने रहेछ नी त । छोराहरुलाई विदेश पठाउनु भन्दा पहिले नै यो तालिम लिन पाएको भए छोराहरुलाइ विदेश नै नपठाइ यही ब्यवसाय गर्न हुन्थ्यो ।’
२०७४ माघ १७ गते प्रकाशित