Tue. Mar 4th, 2025

सहिदको सम्मान अब सुशासन र सम्बृद्धिमा


सीता ढुंगाना –

नेपाली राजनितीको पछिल्लो ७० बर्षको अन्तरालमा देशमा यस्ता थुप्रै परिवर्तन आए जसले विद्यमान व्यवस्थाहरु बदलेर नयाँ व्यवस्थाको शुरुवात गरायो । यि मध्ये १०४ बर्षे जहानीय राणा शासन अन्त्य गरि देशमा प्रजातन्त्र स्थापित गर्नु सबैभन्दा चुनौतीपुर्ण काम थियो । नेपाल आमाले प्रथम सहिद लखन थापा लगायत चार सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ लगायत महान सपुतहरु जम्माएकी रहिछन र त उनिहरुले नेपाली जनताको उन्मुक्ति र स्वतन्त्रताको लागि गिताको किताब छोएर परि आउदा ज्यानै अर्पिने समेत प्रण गरेर १०४ बर्षे जहानीय राणाशासन अन्यको लागि राणाहरुको विरोधमा उत्रिए ।

जतिबेला राणाहरुले जन्मदै जर्नेल पदवी पाउने तर जनताले भने हद सम्मको राणाहरुको चाकडिमा लाग्दा मात्र बहिदार, खरिदार बढिमा बडाकाजी सम्म सिमीत मानिसहरु पुग्न सक्ने व्यवस्था थियो । पदमा पुगेका गैह्रराणाहरुले समेत अरु सामान्य मानिसहरु बिच फेरी पनि राणा शासन र राज्य नितीको प्रभावले राणाकै तरह व्यवहार गर्ने परिपाटी थियो । यस्तो जहानीय राणा शासनको विरुद्धमा विर पुरुषहरुले जसरी हाँसी हाँसी मृत्यदण्ड वरण गरे उनकै बलिदानीले देश आज यो अवस्थामा हासीरहेको छ । आफु अन्यायमा परेको कुरा बोल्न समेत नपाउने व्यवस्था बदलिएर जनताले राजनिती स्वतन्त्रता प्राप्त गरि बोल्न, पढ्न, सिक्न र भन्न (विरोध गर्न) पाउने अधिकारलाई मौलिक हकको रुपमा प्राप्त गरे ।

यसरी नेपाली जनताको उन्मुक्तिको लागि महान बलिदानी अर्पण गर्ने चार विर पुरुष साथै विभिन्न महत्वपूर्ण कालखण्डमा देश र जनताको हितको लागि लोकतन्त्रको पक्षमा जीवन आहुती दिने योद्धाहरुलाई सम्झने दिनको रुपमा मनाईने माघ १६ लाई आजकाल ज्ञात अज्ञात सहितहरु प्रति हार्दिक श्रदान्जली भनेर मनाउने चलन बढेको छ । यसरी सहितहरु प्रति सम्मान गर्दा देशको प्रथम सहिद लखन थापा लगायत चार सहिद साथै अन्य महत्वपूर्ण कालखण्डमा ज्यान आहुती गर्ने सहिदहरुको सम्मानमा औपचारिकता मात्र पुरा भइरहेको छ । पछिल्लो समय सहिदको सुचिमा हजारौं नामहरु थपिँदै जादा सहिद शब्दको परिभाषा पनि बदलिँदै गएको छ । साच्चै सहिद भएका र सहिद बनाईएकाहरुको एउटै परिभाषाले प्रजातन्त्र र लोकतन्त्रको पक्षमा लड्दा लड्दै सपना अधुरा छाडेर जीवन आहुती दिनेहरु प्रति माघ १६ मा सम्मान भन्दा अपमान प्रकट भईरहेको छ ।

सहिदका सपना पुरा गर्न भन्दै कसम खाएकाहरुले अब बर्षको एक पटक फुलको माला र गुच्छाहरु बिचबाट चिहाएका सहिदका आखामा अबिरको धुलो छर्कनु भन्दा ३५९ दिनका आफुले गरेको कर्ममा सहिदका मर्म खोज्नु पर्दछ । प्राप्त भएका राजनिती उपलब्धिहरुलाई संस्थागत गर्ने क्रममा शुसासनको निती अबलम्बन गर्नु पर्दछ । सहिदको सपना राणा शासन र राजतन्त्र अन्त्य गर्नु मात्र नभएर स्वधिनता र राट्रियता सहितको सम्बृद्ध नेपाल निर्माण गर्नु हो । विद्यमान व्यवस्थाहरु परिवर्तन गर्नुमा नेतृत्व र सारा नेपाली जनताको महत्वपूर्ण भुमिका रह्यो ।

यसको मुल्याङ्कन र सम्मान अबको पुस्ताले अवस्य गर्नेछ । अहिले सारा नेपाली र राट्रिय नेत्रित्वको समेतको साझा सपना बनेको छ सम्बृद्ध नेपाल तर आज हामी जो राट्रियता र सम्बृद्धिको सपना बाढिरहेका छा,ैं हामीहरुनै ऐना अगाडि गएर उभिने हो भने हामीले लगाउने, ओड्ने, ओछ्याउने, हिड्ने, चड्ने, गुड्ने र धेरै जसो खाने खुवाउने समेत बिदेशबाट आयातित बस्तुहरु पाउछौँ । नेपालको हकमा सम्बृद्धिका सुचाङ्कहरु के हुने ? खोला, खानी, बन जङ्गल, प्राकृतीक सौन्दर्यता र उर्बर कृषि भूमि प्रयाप्त भएको हाम्म्रो जस्तो देशको अर्थतन्त्रको बढि हिस्सा रेमिट्यान्सले धानेको छ ।

पछिल्लो समय हाम्रा निती तथा योजनाहरु झन वितरणमुखि हुदै गएको छ, उत्पादन मुखि र स्रोत परिचालन मुखि हुन सकेन । संघिय संरचनामा आधारित संविधान कार्यन्वयनको शुत्रपात सगैं देशमा विद्यमान राजनिती अस्थिरता केहि हद सम्म घटेर जाने अपेक्षा बढे पनि सम्बृद्ध नेपाल निर्माणको लागि विकासका नयाँ आयामहरु पुरा गर्दै जाँदा आर्थिक तथा राजनितीक शुसासन र सम्बृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ जहाँ सहिदको सम्मान र जनताको सपना समेत पुरा हुन्छ ।

sitadhng@gmail.com
लेखक धादिङको गजुरी गाउँपालिकाको उपाध्यक्ष हुन् ।

२०७४ माघ १७ गते प्रकाशित

About The Author