सरिता श्रेष्ठ / ११ माघ, धादिङ
दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका २ मा रहेको सीतामाई आधारभूत विद्यालयका विद्यार्थीहरु खुल्ला आकाशमा पढ्न बाध्य भएका छन् । २०७२ सालमा गएको भूकम्पले चर्किएको विद्यालय नजिकै खुल्ला आकाशमा बेन्चमा बस्दै पढ्दै आइरहेका छन् ।
सबै कक्षाका विद्यार्थी एकै ठाउँमा बसेर पढ्ने गरेका छन् । जेठबाट कक्षा सुरु हुन्छ, असार साउनमा बर्षे बिदा, दशैतिहार बिदा पुस माघमा जाडो बिदा हुदाँ विद्यालय कम मात्रै संचालन हुन्छ । विद्यालय संचालन हुने दिनमा पनि शिक्षक नआइदिदाँ पढ्न आएका विद्यार्थीहरु बिचमै पढाई छाड्ने गरेका छन् । शिक्षक नै नभएपछि अभिभावकले पनि आफ्ना बालबच्चालाई विद्यालय पठाउँदैनन् ।
दुई शिक्षक भएपनि विद्यालयमा न शिक्षक समयमा आउने ठेगान हुन्छ न विद्यार्थी नै हुन्छन् । सामान्यतया विद्यालय १० बजेबाट ४ बजेसम्म संचालन हुने गरिन्छ । तर यस विद्यालयका विद्यार्थी किताब कापी अगाडि राखेर शिक्षक कुर्दैमा दिन जान्छ । दुई बर्षता खुल्ला आकासमा पढ्न बाध्य छन् । न कुनै उपयुक्त डेस्क बेञ्च छन्, न त कुनै कालो पाटी (ब्ल्याक बोर्ड) नै । जब पानी पर्छ, हावा हुरी चल्छ, ती विद्यार्थीहरुलाई विद्यालयले बिदा दिने गरेको छ । विद्यालयको भवन त छैन नै, खानेपानी, फर्निचर, खेलकुद सामाग्री समेत छैन । विद्यालयको छेवैमा विभिन्न संघसंस्थाले शौचालय भने बनाइदिएको छ ।
३४ जना चेपाङ र १ जना भुजेल गरी ३५ जना विद्यार्थी विद्यालयको हाजिरीमा छन् तर नियमित विद्यालय आउनेमा मुस्किलले १०, ११ जना मात्रै हुन्छन् ।
धादिङको बेनिघाट रोराङ र गजुरी गाउँपालिकामा सीमान्तकृत चेपाङ समुदायको बसोबास बढी छ । उनीहरुलाई खाने अन्नकै चिन्ता हुने भएकाले पनि पठनपाठन नियमित गर्न समस्या रहेको स्थानीय शम्भू त्रिपाठीले बताए । ‘भौगौलिक विकटता, गरिबी तथा खाद्यन्न अभावका कारण नियमित स्कुल ल्याउन समस्या छ ।’ उनीहरुको चेतना अभिवृद्धिका लागि अभियान चलाउनु आवश्यक भएको उनको भनाई छ ।
चेपाङ समूदायको बाहुल्यता रहेको यस क्षेत्रका विद्यालयमा विद्यालय खाजा कार्यक्रम तथा छात्रवृतिका कार्यक्रमहरु संचालन गरिएको छ । विद्यालयमा विद्यार्थी शून्य हुनुको कारण शिक्षककै कमजोरी किटान गर्छन् त्रिपाठी । ‘स्कुलमा बच्चा भए पनि शिक्षक नै आउँदैनन’, उनी भन्छन्, ‘सरकारले उनीहरूको खोजी गर्ने, विद्यालयमा नभए कारबाही गर्ने ग¥यो भने समस्या समाधान भइहाल्छ नि !’
२०७४ माघ ११ गते प्रकाशित