२९ पुस,धादिङ–
रुपन्देही–११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता‘को सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्थानीय रंङ्गशालामा शुक्रबार भएको अन्तिम क्वाटर फाइनल खेलमा रुपन्देही–११ लाई शून्यका विरुद्ध ४ गोलले पराजित गर्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो । बीसौँैँ मिनेटमा मनाङका विदेशी भिक्टोर अमोवीले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १ गोलले अगाडि रहेको मनाङले दोस्रो गोल आत्मघाती उपहार पाएको थियो ।
छिरिङ गुरुङले बचाउ गर्न खोज्दा दोस्रो हाफको ५५ औँ मिनेटमा आफ्नै पोष्टमा गोल हुन पुगेपछि मनाङको अग्रता दोब्बर भएको थियो । खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको मनाङका लागि ८३ औँ मिनेटमा विशाल राई र ८४ औँ मिनेटमा विमल रानाले गोल थपेका थिए । विदेशी भिक्टोर खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भई पुरस्कृत भए ।
सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलको समीकरण पूरा भई सेमिफाइनलमा पुग्ने चार टोालीको टुङ्गो लागेको छ ।
प्रतियोगिताअन्तर्गत शनिबार मनाङ मस्र्याङदी र त्रिभुवन आर्मीबीच पहिलो सेमिफाइनल र आइतबारसुदूरपश्चिम–११ र विभागीय टिम एपिएफबीच दोस्रो सेमिफाइनल हुनेछ ।
२०७४ पुस २९ गते प्रकाशित