२१ पुस, धादिङ
नसर्ने रोगहरु प्रमुख जनस्वास्थ्य समस्याको रुपमा देखा परिरहेको विषयमा सञ्चालित तालिम धादिङवेसीमा सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय र हर्ड इन्टरनेशनलको आयोजनामा गरिएको तालिममा नसर्ने रोगहरु अहिलेको जनस्वास्थ्य समस्याको रुपमा देखा परिरहेको अवस्थालाई मध्यनजर गर्दै सो संचालन गरिएको थियो ।
नसर्ने रोगहरुको रोकथाम गर्न शुरुकै अवस्थामा पहिचान, उपचार व्यवस्थापन तथा प्रेषण गर्न र सोको लागि बहुक्षेत्रीय प्रतिवद्धता, सहकार्य, राष्ट्रिय क्षमता, नेतृत्व र सुशासनलाई मजवूत गर्दै स्वास्थ्य प्रवद्र्धनमुखी बातावरणको सृजना गरी नसर्ने रोगहरुको जोखिमका कारक तत्वहरुको न्यूनीकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
विश्व स्वास्थ्य संगठन नेपालको प्रतिवेदन २०१४ अनुसार नेपालमा हुने कूल मृत्युमध्ये ६० प्रतिशत मृत्यु नसर्ने रोगहरु जस्तैः– मुटु तथा नशा रोग मधुमेह, क्यान्सर तथा दीर्घप्रकृतिका श्वासप्रश्वास रोगहरु वाट हुने गरेको उल्लेख छ ।
सम्पूर्ण नेपाली जनताहरुमा उच्चतम स्वास्थ्य र गुणस्तरीय जीवनको प्रत्याभूति दिलाउन र नसर्ने रोगहरुको वृद्धिदरमा कमी ल्याउन, यसवाट हुने अपाङ्गतादर न्यूनीकरण गर्न र अकाल मृत्युवाट बचाउन संतुलित तथा स्वस्थ्यकर आहार, शारीरिक सक्रियता, मोटोपना र अधिकतौल नियन्त्रण, सुर्ती सेवनमा रोक तथा मदिरा सेवन प्रवृतीमा नियन्त्रण, स्वस्थ्यकर बातावरण अभिवृद्धि आदि जस्ता क्रियाकलापहरुमा विशेष जोड दिन आवश्यक रहेको सहभागीहरुले बताए ।
तालिममा ती स्वास्थ्य निकायका मेडिकल अफिसर, हेल्थ असिस्टेण्ट, स्टाफ नर्स, अहेव, अनमीको सहभागिता रहेको थियो । तालिममा ८ जना डाक्टरहरुले नसर्ने रोगका विषयमा प्रशिक्षण दिएका थिए ।
जिल्लाका ४३ वटा स्वास्थ्य चौकि तथा २ वटा प्राथमिक स्वास्थ केन्द्र र जिल्ला अस्पतालका समेत गरी ४६ स्वास्थ्य संस्थाका ६२ जनाको सहभागिता रहेको हर्ड इन्टरनेशनलका दिनेश तिमिल्सिनाले बताए ।
२०७४ पुस २१ गते प्रकाशित