अनिता शाक्य/१८ पुस, धादिङ
जस्तापाता र ब्लकबाट बनेको घर । एक कोठामा खानेबस्ने र बाहिरपट्टी आफ्नो दैनिक काम । यो घर सुुर्यकुमार सेन्चुरीको हो । घरको आँगनमा केहि पिटे जस्तो ट्याङट्याङ आवाज आइरहेको छ । मध्य पुसको जाडोमा पनि खलखल पसिना बगाउँदै सूर्यकुमार आफ्नै सुरमा तामाका भाँडाहरु बनाउँदै छन् ।
नीलकण्ठ नगरपालिका–३, धादिङबेसीको मालेबगरमा तामाको भाडाँ बनाउँदै आइरहेका सूर्यकुमार उमेरले ४६ वर्ष लागे । घर वरिपरि कृष्ण बहादुर विश्वकर्माको नामले परिचित उनको २ छोरा, २ श्रीमती गरी ५ जनाको परिवार छ । पहिलो श्रीमतीबाट सन्तान हुन नसकेकोले २०६६ सालमा सूर्यकुमारले दोस्रो बिहे गरे । छोराहरु नजिकैको बोर्डिङमा पढ्छन् ।
ढाकाको टोपी मिलाउदै सूर्यकुमार भन्छन् “२०४६ साल देखि मैले तामाको भाँडा बनाउने काम गर्दै आएको थिए, त्यसपछि जति दुख परे पनि आफै लगानी गरेर यहि व्यवसाय गर्छु भनेर २०६६ सालमा धादिङ आएर काम सुरु गरे ।” बिगत २८ बर्षदेखि यहि काम गर्दै आएकोले आफु यसैमा दक्ष भएको उनी बताउँछन् । आफ्ना बिगत सम्झिदै
सुर्यकुमार भन्छन्–सुरुसुरुमा व्यवसाय गर्दा आम्दानी कम भएकोले दैनिक खर्च टार्न पनि गाह्रो हुन्थ्यो । बिस्तारै दिन बित्दै जाँदा आर्थिक पाटोमा सहज हुदै गएको छ । आफ्नो पेशामा गर्व लाग्छ अहिले त ।
पन्चकन्या मेटल धादिङु सुर्यकुमार सेन्चुरीको आफ्नो पसलको नाम हो । यहाँ उनले बनाएका तामाका गाग्री, खडकरा, सिलाबरका भाँडाहरु, फलामका औजारहरु बेच्छन् । २०६६ सालमा सुरु गरेको व्यवसाय समय अनुुसार फस्टाउदै गएपछि उनीसंगै काम गर्ने २ जना मिस्त्रीहरु पनि राखेका छन् । उनी भन्छन् –तामाकै भाँडा बनाएर महिनामा ७० हजार देखी ८० हजार सम्म आम्दानी हुन्छ । यसै आम्दानीबाट घर खर्च गर्ने, मिस्त्रीहरुलाई तलव दिने, दुई छोराहरुलाई पढाउने गरेको छु । उनलाई अन्य भाँडापसलबाट पनि अर्डर आउने गरेको छ ।
अन्य व्यवसायहरुको लागि सरकारवाला निकाय, गैरसरकारी संघसस्थाहरुबाट तालिमको व्यवस्था गरिन्छ तर तामाको भाँडा बनाउने काम गाह्रो छ । लोप हुदै गएको अवस्था छ र पनि यसमा कुनै सरकारवाला निकाय, गैरसरकारी संघसस्थाहरुले तालिमको व्यवस्था नगर्दा आफू दुखी भएको सूर्यकुमार बताउँछन् ।
गल्छी गाउँपालिका साबिकको कल्लेरी घर भएका सेन्चुरी २०६६ सालदेखि धादिङबेसीमा बसोबास गर्दै आएका छन् । गाउँको सम्झना आउँदा कहिलेकाही गएर बस्ने एउटा घर पनि भुकम्पले भत्काएर क्षेतबिच्छेद पारेको छ । सरकारबाट अनुदान स्वरुप पाउने पहिलो किस्ताको रकम समेत आफूले नपाएको बताउँछन् उनी । गुनासो दर्ता फारम भरेर बसेको सेन्चुरी दम्पतीले आफूले अनुदानका रकम पाउने कुरामा आश्वस्त छन् । सरकारबाट पाउने रकममा आफूसंग भएको केही रकम थपेर परिवारको लागी सानो घर बनाउने ठूलो सपना छ सेन्चुरी दम्पतीको ।
सुर्यकुमार सेन्चुरी भन्छन् “आफूले सकुन्जेल यहि पेशा गरेर आफ्नो जिविकोपाजर्न गर्नेछु । आजसम्म मेरो पसलमा आउने ग्राहकहरुको चित्त बुझाउन सकेको छु यसमानै मेरो खुशी छ ।” परम्परागत सीप भएका व्यक्तिहरु आधुनिक वस्तुहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा पेसाबाट विस्थापित हुनुपर्ने अवस्था आएकाले पुरानो सीपको जगेर्ना गर्दै नयाँ सीप सिकाइनुपर्ने उनले बताए ।
२०७४ पुस १८ गते प्रकाशित