Fri. Jan 31st, 2025

आँखु खोला जलविद्युत् : जोखिममा सर्वसाधारणको लगानी

१६ पुस,  धादिङ –

धादिङको गंगा–जमुना गाउँपालिका–५ का ऋषि नेपालले बचत गरेको पैसामा सरसापटी थपेर आँखु खोला जलविद्युत् कम्पनीमा रु।५ लाख लगानी गरे । ५–७ वर्षमै लगानी फिर्ता हुने भनिएकोले लगानी गरेका उनलाई पाँच वर्षसम्मको नाफा–घाटा थाहा छैन । “आफ्नै ठाउँको आयोजना भनेर पनि लगानी गरियो, तर अहिले कम्पनी घाटामा देखाइएको छ” उनी भन्छन्, “कम आय भएका म जस्ताको लगानी पाँच वर्ष फँस्नु भनेको ठूलो कुरा हो ।”

उनी जलविद्युत्मा कसैले झुक्किएर पनि लगानी गर्न नहुने सुझाव दिन्छन् । आँखु खोला आयोजनामा ठगी भएको उनको बुझइ छ । नेपालले ऋणपान गरेर यो आयोजनामा लगानी गरेका थिए भने काठमाडौंका ज्योति अधिकारीले होटलमा लगानी गर्न ठिक्क पारेको रु।५० लाख खन्याएका थिए । होटलमै लगानी गरेको भए नाफा नभए पनि लगानी डुब्ने थिएन ।

यसले उनलाई ठूलो पछुताउमा पारेको छ । आँखु खोला जलविद्युत् आयोजनामा लगानी फँसाएका नेपाल र अधिकारी जस्ता सर्वसाधारण अहिले आ–आफ्नै किसिमको समस्यामा परेका छन् ।

तिनैमध्येका धादिङकै गंगा–जमुना गाउँपालिका–५ का अर्जुन नेपाल, मुना अधिकारी र कुमार अधिकारीले रु.१–१ लाख लगानी गरेका थिए । लगानी गरेको सात वर्षमा ऋण खोजेर ऋणको व्याज बुझाइरहेको मुना अधिकारी बताउँछिन् ।

आँखु खोला आयोजनामा १३०० जना सर्वसाधारणको रु.६० करोड लगानी भएको छ । २२ पुस २०७३ को साधारण सभामा पेश गरिएको प्रतिवेदनमा कम्पनीले तिर्नुपर्ने दायित्व शीर्षक अन्तर्गत रु।२ अर्ब ५३ करोड देखाइएको छ ।

त्यसमध्ये संस्थापक शेयरको लगानी रु.६० करोड, ब्याङ्कहरूको कर्जा रु.१ अर्ब ५४ करोड र अन्य संस्थागत तथा व्यक्तिगत दायित्व शीर्षकमा रु.३९ करोड छ । विद्युत् बिक्रीबाट वार्षिक रु।२० करोड ५१ लाख आम्दानी गरिरहेको आयोजना धादिङबेसीदेखि ४२ किलोमिटर उत्तरमा पर्ने आँखु खोलामा निर्माण गरिएको छ । ९.८ मेगावाटको यो आयोजना २०६५ सालमा निर्माण शुरू भएर ५ भदौ २०७० बाट सञ्चालनमा आएको हो । हिमाल खबरबाट साभार

 

२०७४ पुस १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: