
४ पुस, धादिङ –
बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले दुईवटा अवार्ड पाएका छन् ।
बार्सिलोनमा सोमबार भएको एक विशेष कार्यक्रममा मेस्सीले सन् २०१६–१७ को सिजनका लागि पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड जितेका हुन् । यो अवार्ड स्पेनिस खेल पत्रिका मार्काले प्रदान गरेको हो । मार्काले हरेक वर्ष ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीलाई पिचिची अवार्ड दिने गरेको छ । मेस्सीले गएको सिजन ला लिगामा ३४ खेलमा ३७ गोल गरेका थिए ।
उनले टिमका साथी खेलाडी लुइस स्वारेजले भन्दा दुई गोल बढी गरेका थिए । मेस्सीका प्रतिस्पर्धीका रुपमा लिइने रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले गएको सिजन ला लिगामा २५ गोल गरेका थिए । मेस्सीलाई मार्काले अलफ्रेडो डि स्टेफानो अवार्ड पनि प्रदान गरेको छ । यो अवार्ड ला लिगामा सिजनको उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ ।
२०७४ पुस ४ गते प्रकाशित