
१५ मंसिर, धादिङ–
वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप खेल्न युएईमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको छ । नेपालले दिएको ९० रनको सामान्य लक्ष्य अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
युएईको अबुधावीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर समेत खेल्न सकेन र ३६.१ ओभरमा ८९ रनमा अलआउट भयो । नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक २१ रन जोडे भने ओपनर दीलिप नाथले १६, दीपेन्द्र सिंह ऐरीले १२ तथा कुशल भुर्तेलले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
पहिलो पटक राष्ट्रिय टिमका लागि खेलेका यू-१९ टिमका अनिल कुमार शाह खाता नखोली आउट भए । नियमित कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको अनुपस्थितीमा शरद भेषावकरले नेपालको कप्तानी गरेका थिए ।
२०७४ मंसिर १५ गते प्रकाशित