२८ कार्तिक, काठमाण्डौ ।
एएफसी एसियन कप छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्ने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको कृत्रिम मैदानमा हुने खेलमा नेपाल विजय लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
यसअघि गत चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलअन्तरले पराजित भएको थियो । त्यसपछिका तीन खेलमा पनि पराजित भएको नेपाल छनोट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालले दोस्रो खेलमा यमनसँग बराबरी खेलेता पनि त्यसपछिका दुई खेल ताजीकिस्तानसँग पराजित भएको थियो ।
यसअघि चार खेलेको फिलिपिन्स आठ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ भने एक अंक जोडेको नेपाल अन्तिम स्थानमा छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले विगतका कमजोरीलाई सुधार गर्दै प्रतियोगितामा जित हासिल गर्ने लक्ष्य लिएको छ ।
नेपाली टोलीको गोलरक्षकमा किरणकुमार लिम्बू, विशाल श्रेष्ठ र विकेश कुथु छन् । त्यसैगरी डिफेन्डरमा रोहित चन्द, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी, अनन्त तामाङ, विराज महर्जन र कमल श्रेष्ठ छन् ।
मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, हेमन्त थापा मगर, विक्रम लामा, अन्जन विष्ट, जगजित श्रेष्ठ र सुनिल बाल छन् भने फरवार्डमा विमल घर्ती मगर अनिल गुरुङ, भरत खवास, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ छन् ।
२०७४ कार्तिक २८ गते प्रकाशित